काठमाडौं महानगरपालिकाले ललिता निवासभित्रका जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ। ललिता निवास जग्गामा अनियमितता भएको भन्दै नेपाल प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी राखेका बेला महानगरपालिकाले त्यहाँ कुनै पनि संरचना निर्माणका लागि स्वीकृत नदिने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिका–४ मा पर्ने ललिता निवासको जग्गामा आइतबार दिउँसो पुगेको महानगर प्रहरी टोलीले दुई दिनभित्र अनधिकृत संरचना हटाउन दिर्नेशन दिएको छ। साथै सो क्षेत्रमा सूचना टाँस गर्दै महानगरको स्वीकृतिबिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन भनेको छ।
काठमाडौं महानगरपालिकाले ललिता निवासभित्रका जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ।
महानगरको निर्देशनविपरीत उल्लिखित क्षेत्रमा संरचना निर्माण गरे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ अनुसार त्यस्तो भवन संरचना भत्काइनेछ र भत्काउँदा लागेको खर्चसमेत सम्बद्ध घरधनीबाट सरकारी बाँकीसरह असुलउपर गरिने जनाएको छ।
यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं महानगरका अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको छ। उनीहरूलाई आइतबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको हो।
यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित धर्मप्रसाद गौतम, सुधीर शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो भने सोही दिन पक्राउ परेका अन्य तीनजनालाई भने अदालतको आदेशअनुसार छाडिएको थियो।
प्रकाशित: १८ असार २०८० ०१:२९ सोमबार