१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जिल्ला बाहिर लुकेर गरिएको नगर सभा खारिजीको माग

बहुमत नगर सभा सदस्यहरूलाई बाहिर राखेर गरिएको पचरौता नगरपालिकाको नगर सभा खारिजीको माग गर्दै कलैयामा गरिएको विरोध प्रदर्शन ।

बारा जिल्लाको पचरौता नगरपालिका नगर प्रमुख जलन्थर सिंहले अनियमितता ढाकछोप गर्न जिल्ला बाहिर लुकेर गरेको १० औँ नगर सभालाई लिएर  विरोध प्रदर्शन सुरु गरिएको छ।

नगरपालिका बहुमत नगर सभा सदस्यहरू, बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले लुकेर गरिएको नगर सभालाई खारिजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

बहुमत नगर सभा सदस्यहरू र बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरुलाई थाहै नदिई नगर सभा गर्ने  नगर प्रमुख जलन्धर सिंह , प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र र निमित्त प्रशासकीय अधिकृत गौरी साहलाई कारवाहीको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरिएको थियो।

नेपाली काँग्रेसका गोबरी यादव, जनमत पार्टीका नेता  प्रमुख पटेल र लोसपाका नेता श्याम गुप्ताले पचरौता नगरपालिका प्रमुख जलन्धर सिंहले जिल्ला बाहिर लुकेर बहुमत कार्यपालिका सदस्यहरूलाई बाहिर राखेर नगर सभा गरेको कार्य  विकास विरोधी, अलोकतान्त्रिक र आपसमा झडपको अवस्था सृजना गरेको भन्दै  विरोध गरेका छन्।

९ वटा वडा रहेको पचरौता नगरपालिकामा ५० जना नगर सभा सदस्यहरू रहेकोमा नगर प्रमुख सिंह १७ जना मात्रै रहेको र बाँकी ३३ जना विरोधमा रहेकोले बाहिर लुकेर नगर सभा गरेको वडा नम्बर ६ का वडा अध्यक्ष मकबुल अन्सारीले आरोप लगाएका छन्।

चालु आर्थिक वर्ष २०७९/८० मा ९ औँ नगर सभाबाट लगभग ५४ करोडको पारित गरिएको र पारित गरिएको बजेटको कुन कुन शीर्षकमा के कति खर्च भएको त्यसलाई सार्वजनिक गर्न माग गर्दा हिसाब किताब नदेखाउनको लागि नगर प्रमुख वीरगन्जको एक होटलमा  असार १० गते रातीमा १७ जना नगर सभा सदस्यहरूलाई बोलाएर फोटो खिची सामाजिक सञ्जाल फेसबुकमा राखेर नगर गरेकोमा त्यसलाई खारिजीको माग गर्दै विरोध पर्नु परेको वडा अध्यक्ष अन्सारीले बताए।

नगर प्रमुख सिंहले इन्धन लाखौँ रुपैया अनियमितता गरेको ,आफ्ना भाइलाई बिनय पटेल सहित ५० जना भन्दा बढी आफ्ना आसेपासेलाई नियुक्त गरेर बजेट रकमबाट तलब खुवाउने गरेको, बिभिन्न योजनामा आफ्ना नजिकका मानिसहरूलाई भुक्तानी गराएर करोडौँ बजेट रकमको  आफू खुसी खर्च गरिएको कार्यको छानबिनको माग समेत गरिएको असारीले बताए।

आर्थिक वर्ष २०८०/०८१ को नगर सभालाई  स्थानीय तहहरूले असार १० गते भित्र  आफ्ना बजेट, नीति तथा कार्यक्रम ल्याई सक्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

विपक्षी नगर सभा सदस्यहरूले असार १० गते नगर सभा नहुने देखेर जिल्ला प्रशासन कार्यालय बारामा नगर सभाको बारेमा जानकारी लिनको लागि उजुरी दिएका थिए।

पचारौता नगरपालिकासँग प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्ला प्रशासन कार्यालय बाराको चलानी नम्बर २०४३३ बाट नगर सभाको बारेमा २४ घण्टा भित्रमा जानकारी गराउन  पत्र पठाइए पछि उनीहरुले प्रक्रिया नै नपुर्‍याई लुकेर नगर सभा गरेको आरोप विरोधमा रहेका वडा अध्यक्षहरूले लगाएका छन्।

जिल्ला प्रशासन कार्यालय बाराको पत्र सामाजिक सञ्जालमा  सार्वजनिक भएपछि पचरौता नगरपालिकाले आइतबारको राति ९ बजेर १५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा नगर सभा सम्पन्न भएको पत्र सार्वजनिक गरेको थियो। उक्त पत्रमा प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रको हस्ताक्षर नभई निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहको हस्ताक्षर रहेको छ।

पचरौता नगरपालिकाले मिति २०८० / ०३/ १० गते आइतबारका दिन पचरौता नगरपालिकाको आ.ब.२०८०/०८१ को १० नगर सभामा कुल आय व्यय जम्मा रकम रु. ५१,८८,६०,७००/– अक्षरेपी एकाउन करोड अठासी लाख साठी हजार सात सय मात्र पेश गरि नगर सभा सम्पन्न गरिएको ब्यहोरा पत्रमा उल्लेख गरिएको छ।

विवादित १० औँ नगर सभा सम्पन्न भएको पत्रमा निमित्त प्रमुख प्रशासकीयको कार्यभार लिएर हस्ताक्षर गरेका गौरी साहले नगरपालिका क्षेत्रमा नगर सभा गराउँदा झडप हुने देखेर नै वीरगन्जको होटेलमा नगर प्रमुखको आदेश अनुसार नगर सभा गराउनु परेको स्विकारे।

नगर सभामा नगर प्रमुखको अध्यक्षतामा हुने र प्रशासकीय अधिकृत सदस्य सचिव रहने कानुनी व्यवस्था रहेकोले नगर प्रमुखले वीरगन्जको एक होटलमा बोलाएर नगर सभा गर्न भने पछि आफूहरूले कुरा काट्न नसकेको निमित्त प्रशासकीय साहले बताए।

पचरौता नगरपालिका प्रमुख जलन्धर सिंहले १० औँ नगर सभा नगरपालिकामा नै सम्पन्न गरिएको तर्क गरेका छन्।

निमित्त प्रशासकीय अधिकृत गौरी साहले वीरगन्जको होटलमा नगर सभा गरिएको स्विकारेको तर तपाइले नगरपालिकामै नगर सभा गरिएको किन भन्नु भएको हो भन्ने प्रश्नमा प्रमुख सिंहले बाहिर आएको कुराहरू जस्तो केही नरहेको बताए।

बहुमत  नगर सभा सदस्यहरू र अन्य राजनीतिक दलका प्रनितिधीहरुले नगर सभा पचारौता नगरपालिका भन्दा बाहिर लुकाएर गरिएको आरोप लगाउँदै किन  नगर सभा खारिजीको माग गरि रहेका छन भन्ने प्रश्नमा सिंहले सबै मानिसहरूले आ आफ्नो आवश्यकता हुन्छ त्यसलाई मैले पुरा नगरेकोले मेरो विरोध गरिएको तर्क गरे।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पचरौता नगरपालिकाको १० औ नगर सभा विवादित बनेको  र त्यसको बारेमा बुझने कार्य गरिएको बताएका छन्। 

प्रकाशित: १३ असार २०८० ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App