२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

६ महिनामै सत्ता बदल्न चलखेल

फाइल तस्वीर

प्रतिनिधिसभाको अंक गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुुरु भएको छ। वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध मात्र भएको छैन, सरकार परिवर्तन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ।

प्रतिनिधिसभामा जारी बजेट अधिवेशनमा सत्तापक्ष र विपक्षका सांसदहरूले बजेटको विरोध गरिरहँदा बाहिरबाट प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको औचित्यमाथि प्रश्न उठाएको छ। साथै संयुक्त सरकारमा रहेका दलका नेताहरूले पनि अहिलेको सरकारमाथि प्रश्न उठाएका छन्। त्यति मात्र होइन, सरकारले ल्याएको बजेटमा सत्ता पक्षबाटै असहमति प्रकट गर्दा राजनीतिशास्त्रका प्राध्यापकहरूले पनि सरकार परिवर्तनको हल्ला चल्नु स्वाभाविक भएको बताएका छन्।

प्रतिनिधिसभाको अंक गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापक कृष्ण पोखरेलले बजेटमा सत्तारूढ गठबन्धन दलका नेताहरूलाई असर पर्ने किसिमको बजेट आउनु र उनीहरूले विरोध गर्नुमा केही आशंका उब्जिएको बताए। ‘बजेटमा विरोध आइरहेको छ, सत्तारूढ गठबन्धनलाई असर पर्नेगरी क्रस भोटिङको तहसम्म त पुग्दैन कि तर जुन तहले विरोध भइरहेको छ, त्यसको असर भने अनुमानयोग्य छैन,’ प्राध्यापक पोखरेलले भने।

सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नै आवश्यकताअनुसार सरकार परिवर्तन हुने अभिव्यक्ति दिँदै आएका छन्। कांग्रेसकै महामन्त्रीबाट त्यस्तो अभिव्यक्ति आएपछि सत्तारूढ दलभित्र आशंका र द्विविधा उत्पन्न भएको छ।

एमाले उपमहासचिव एवं कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले एमालेको आवश्यकता अहिले सरकार परिवर्तन गर्ने नभएको तर परिआए एमाले चुप लागेर नबस्ने बताएका छन्। ‘सर्वत्र विरोध छ, बजेटमा सत्ता पक्षबाटै विरोध छ, जनउत्तरदायी र जनमैत्री सरकार छैन भन्ने प्रस्ट छ। त्यसकारण यो सरकार एमालेका कारण ढल्ने होइन, गठबन्धन दलकै कारण ढल्न सक्छ। त्यसमा एमालेको के भूमिका होला र?’ उपमहासचिव ज्ञवालीले भने।

यस्तो अवस्थाले माओवादी केन्द्रलाई पनि सशंकित गराएको बताइएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र पनि आशंका र द्विविधाको स्थिति पैदा भएको छ। नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अहिलेको सरकार ढाल्न एमाले अध्यक्ष केपी ओली र सरकारबाहिरका अन्य दल लागिपरेको बताएका छन्। तर तत्काल सरकार परिवर्तन हुने सम्भावना भने नदेखिएको उनी बताउँछन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दुई दिनअघि एक कार्यक्रममा एमाले अध्यक्ष ओली कम्युनिस्ट नेतृत्वको सरकार ढाल्न लागिपरेको बताएका थिए। त्यसको जवाफमा ज्ञवालीले आइतबार एक कार्यक्रममा माधव नेपालको नामै लिएर बोलीमा अडान नभएको नेता भनी चित्रण गरे।

एमाले उपमहासचिव एवं कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले एमालेको आवश्यकता अहिले सरकार परिवर्तन गर्ने नभएको तर परिआए एमाले चुप लागेर नबस्ने बताएका छन्।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको अहिलेको आवश्यकता भनेको संगठन बनाउने भए पनि संसद्मा सरकार परिवर्तन गर्ने अवस्था आइपरे मूकदर्शक भएर नबस्ने बताएका छन्।

उनले एमाले र कांग्रेसजस्ता ठुला दलले नै सरकारको नेतृत्व गर्नुपर्ने पनि बताए। कांग्रेस र एमालेका केही नेताले कांग्रेस–एमालेको सरकार बन्न सक्ने अनुमानसमेत गरिरहेका छन्। सिंगो राजनीतिक वृत्तमा पनि एमालेले कांग्रेसलाई सहयोग गर्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने चर्चा व्यापक रूपमा चलिरहेको छ। तर यसको सार्वजनिक पुष्टि भने भइसकेको छैन।

गत पुस १० गते एमालेकै सक्रियतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय भएको थियो। त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवासमा सम्पन्न दलहरूको बैठकमा दाहालको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि पुस १० गते नै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाइएको थियो। त्यतिबेला एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २०, जनता समाजवादी पार्टी (जसपा) का १२ र जनमत पार्टीका ६ सिट थिए। तर पछि फागुनमा राष्ट्रपति निर्वाचनका क्रममा दाहालले एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेका थिए।

गत चैत ५ गते कांग्रेसले दाहाल नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको थियो। त्यसपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसहित पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको थियो। त्यतिबेला रास्वपा र राप्रपा पनि सरकारबाहिर बसेका थिए। अहिले पनि यी दुई दलसहित राप्रपा सरकारबाहिर बसेका छन्। एमाले अहिले प्रमुख प्रतिपक्षी दलको  भूमिकामा छ।

चार महिनाअघि सरकारमा सहभागी भएको कांग्रेसभित्रैबाट सरकारको नेतृत्व परिवर्तन गर्नेुपर्ने अभिव्यक्तिहरू मुखर हुन थालेका छन्। कांग्रेसका संस्थापनबाहेकका नेताहरूले सरकार परिवर्तनबारे आफ्नो धारणा राख्न थालेका छन्। प्राध्यापक पोखरेलले अहिलेको नेपाली राजनीति कुन बेला के हुन्छ भनेर भन्न नसकिने बताए।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको अहिलेको आवश्यकता भनेको संगठन बनाउने भए पनि संसद्मा सरकार परिवर्तन गर्ने अवस्था आइपरे मूकदर्शक भएर नबस्ने बताएका छन्।

उनका अनुसार यति थोरै समयमा सरकार परिवर्तनको आवाज उठ्नु अस्वाभाविक छ। सत्तारूढ दलका नेताहरूले नै सरकार परिवर्तनबारे अभिव्यक्ति दिनु गलत रहे पनि आन्तरिक कारणले यस्तो अभिव्यक्ति दिन बाध्य पारिएको हुन सक्ने उनले बताए। ‘नेपालको अहिलेको राजनीति अनुमानयोग्य ठाउँमा छैन,’ पोखरेलले भने। उनका अनुसार कांग्रेसको आन्तरिक अवस्थालाई थेग्न नसके र एमालेको दबाबमा परे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने हतार भए सरकार परिवर्तन सम्भव छ।

प्राध्यापक कृष्ण पोखरेलले अहिलेको नेपाली राजनीति कुन बेला के हुन्छ भनेर भन्न नसकिने बताए। उनका अनुसार यति थोरै समयमा सरकार परिवर्तनको आवाज उठ्नु अस्वाभाविक छ। सत्तारूढ दलका नेताहरूले नै सरकार परिवर्तनबारे अभिव्यक्ति दिनु गलत भएको उनले बताए।

‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने हतार भए एमालेको दबाबमा परेको मान्न सकिन्छ, नत्र अहिलेको गठबन्धन चल्न सक्छ, गठबन्धन दलहरूले नै त्यसो बताइरहेका छन् तर पनि राजनीति अनुमानयोग्य भने छैन,’ प्राध्यापक पोखरेलले भने। उनले सरकारमै रहेका दलहरूले बजेटमा असहमति प्रकट गरिरहँदा सरकार परिवर्तनको हल्ला चल्नु स्वाभाविक भएको बताए।  

प्रकाशित: ११ असार २०८० ०१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App