१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

बुटवल उपमहानगरको बजेट २ अर्ब ३६ करोड

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३६ करोड बढीको बजेट ल्याएको छ।

आइतबार बसेको १३ औं नगरसभाको बैठकमा उपप्रमुख सावित्रा देवी अर्यालले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेकी हुन्।

आगामी वर्ष ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। राजश्व बाँडफाँडबाट ३१ करोड प्राप्त हुने अनुमान गरीएको छ। बाकी चालु वर्षको खर्च हुन नसकेको बजेटसहित  संघीय र प्रदेश सरबारबाट प्राप्त हुने अनुदानबाट आयको अनुमान गरीएको छ। स्पेसल टाक्स फोर्स गठन गरी कर असुलीलाइ चुस्त बनाउने बजेटमा उल्लेख छ।

बजेटमा शिक्षा,स्वास्थ्य तथा स्वरोजगार मुलक कायक्रमले प्राथमिकता पाएका छन। शैक्षिक विकासका लागि विद्यालय सुधार कार्यक्रम र स्वास्थ्य तर्फ अस्पताल सञ्चालनको बिषयले प्राथमिकता पाएको छ। शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख वजेट विनीयोजन गरीएको छ। नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख विनीयोजन गरीएको छ।

फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख छुट्याइएको छ। बजेटले स्वास्थ्यतर्फ बुटवल १३ र १७ मा १५।१५ शैयाका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न  २ करोड बजेट छुट्याइएको छ। वडा नं. १३ को अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने, बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क गराउने घोषणा बजेटमार्फत गरिएको छ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि  १ करोड रुपैयाँ बजेट छुट्याइएको उपप्रमुख अर्यालले बताइन्। 

नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ। १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन, नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ राहत अनुदान दिने कार्यक्रमले निरन्तरता पाएका छन्।  

विद्यालयहरुको स्तरोन्नति तथा भौतिक सुधारका लागि २ करोड रुपैयाँ, बुटवलमै स्वास्थ्य जनशक्ति उत्पादनका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पारामेडिकल शिक्षा शुरु गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ।

बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गर्ने बजेटमा उल्लेख छ। उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट र सौन्दर्यीकरणका लागि ४ करोड २५ लाख विनीयोजन गरीएको छ।

बुटवलको मुख्य सडक क्षेत्रमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन तय गर्ने र त्यसको व्यवस्थापन तथा सहकार्यमा नगरले जनशक्ति परिचालन गर्ने कार्यक्रम ल्याएको छ। नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न २ करोड, वडाहरुको समग्र विकासका लागि १६ करोड ५० लाख छुट्याइएको छ। यस्तै, बुटवलमा पार्किङ्ग व्यवस्थापन गर्न सार्वजनिक र निजी जग्गाको उपयोग गर्ने कार्यक्रम नगरले ल्याएको छ।

नगरका गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख अर्यालले बताइन्। बुटवलले व्यवसाय दर्ता, नवीकरण, घरबहाल करजस्ताक्षेत्रको राजस्व संकलन गर्न र दायरा बढाउनका लागि राजस्व संकलन स्पेशल टास्क फोर्स गठन गरी परिचालन गर्ने नीति अगाडि सारेको छ।

रात्रीकालीन बजार सञ्चालन, छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाई राष्टिय निकुञ्ज स्थापना गर्ने, लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थलका रुपमा विकास गर्ने गरी कार्यक्रम समेटिएको छ।  

लगानीकर्ता आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना गर्ने, रात्रीकालीन बजार सञ्चालन तथा पर्यटन प्रवद्र्धन, जीतगढी किल्ला, मणिमुकुन्दसेन दरबार, जितगढी युद्ध संग्रहालयलाई नगर सम्पदाका रुपमा प्रवद्र्धन गर्ने कार्यक्रमलाइ बजेटले प्राथमिकता दिएको छ।

खेल क्षेत्रको विकास गर्दै खेलाडी उत्पादका लागि विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने,मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचानक गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रमले बजेटमा स्थान पाएका छन्।

त्यस्तै उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास, अपाङ्गता भएका व्यक्तिहरुलाई सीप र रोजगारसँग जोड्ने कार्यक्रम बजेटमा समेटिएको छ।

एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकलाइ इरिक्सा र टेम्पुका सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने भनिएको छ। बजेट प्रस्तुत गरेपछि नगरसभाको बैठक असार १३ गतेसम्मका लागि स्थगित गरीएको छ।

नगरप्रमुख खेलराज पाण्डेले यसपटकको बजेटले बुटवलको मुहार बदल्ने विश्वास गरिएको र जनतासँग जोडिएका विषयहरुलाई मुख्य प्राथमिकतामा राखिएको बताए।  शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै शैक्षिक सुधार तथा स्वास्थ्य क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवासंगै जनशक्ति उत्पादनमा जोड दिइएको बताए।

यसपटकको बजेटले उज्यालो बुटवल बनाउने, सडक र बसपार्कको सौन्दर्यीकरण गर्ने, छाडा चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि गाई राष्टिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुसँग पहल गर्ने कार्यक्रम ल्याइएको नगरप्रमुख पाण्डेले बताए।  

प्रकाशित: १० असार २०८० १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App