१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ, यो वर्ष अभाव हुँदैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले २०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताए।

उनले सो मध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताए। त्यस्तै यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उनले जानकारी गराए। प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने बताए।

उनले भने, ‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरुमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु। २०७९ श्रावण महिनादेखि हालसम्म तिन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरुमा मौज्दात रहेको छ। भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको छ। धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक रहेको छैन। शुरुमा रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ। यसबाट सरकार किसानहरुका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित हुन्छ। मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको छ भने वितरण कार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएको छ। मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको कुरा पनि म जानकारी गराउन चाहन्छु।’

प्रकाशित: ८ असार २०८० ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App