२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीले भोलिसम्म उम्मेदवार तोक्ने तयारी

काठमाडौं- सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले वैशाख ९ गतेभित्र ७ सय ४४ स्थानीय तहमा उम्मेदवार चयन गरिसक्ने योजनाअनुसार आन्तरिक तयारी तीव्र पारेको छ। वडा, गाउँ/नगर/उपमहानगर/महानगरपालिसहितका सबै ७ सय ४४ तहमा वैशाख ३१ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले तयारी तीव्र पारेको हो।

केन्द्रीय कार्यालयको बैठकले उम्मेदवार चयनमा सहजीकरणका लागि केन्द्रीय नेतालाई गाउँगाउँ पठाएको नेता गिरिराजमणि पोखरेलले बताए। ‘पार्टी केन्द्रीय कार्यालयको निर्णायानुसार केन्द्रीय नेताहरू उम्मेदवार छनोटमा सहजीकरणका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा पुगेका छन्,' पोखरेलले नागरिकसँग भने, ‘वैशाख ९ गतेभित्र उम्मेदवार टुंगो लगाउने उद्देश्यसहित केन्द्रीय नेता खटिएका छन्।' उनका अनुसार ३ दिनभित्र वडा सदस्य, वडा अध्यक्ष, अध्यक्ष/उपाध्यक्ष/मेयर/उपमेयरका उम्मेदवार चयन गरिसक्नु पर्ने भएकाले तीव्रता साथ काम भइरहेको छ।

प्रदेश २ का गाउँ/नगर/उपमहानगरमा उम्मेदवार छनोटमा सहजीकरण गर्न ६ केन्द्रीय नेतालाई खटाइएको छ। पर्सामा उर्मिला अर्याल, बारा र रौतहटमा प्रभु साह, सर्लाही र महोत्तरीमा पोखरेल, धनुषामा मातृका यादव तथा सिरहा र सप्तरीका लागि विश्वनाथ साहलाई यस्तो जिम्मेवारी दिएर पठाइएको छ। यसैगरी, अन्य प्रदेशका जिल्लामा पनि केन्द्रीय नेताहरू उम्मेदवार छनोटमा  सहजीकरण गर्न खटिएका छन्।

केन्द्रीय कार्यालयका अर्का सदस्य मणि थापाका अनुसार उम्मेदवार चयन कार्य सम्पन्न गरेर ७ सय ४४ स्थानीय तहमा चुनावीसभा गर्ने तयारीमा माओवादी केन्द्र जुटेको छ। ‘एकैपटक पार्टीले ७ सय ४४ स्थानीय तहमा चुनावीसभा गर्दैछ, उम्मेदवार छनोटसहित चुनावीसभाको काम पनि सँगसँगै भइरहेको छ', थापाले भने। उनका अनुुसार त्यसका लागि आन्तरिक जनपरिचालन भइरहेको छ।

ललितपुर जिल्ला इन्चार्ज दिलीप प्रजापतिका अनुसार वडा सम्मेलन सम्पन्न गरेर नगर सम्मेलन गर्दै उम्मेदवार छनोट कार्य सुरु भइसकेको छ। ‘पार्टीभित्र आंकाक्षीहरू क्रमशः देखिन थालेका छन, तीनलाई मिलाउने र सकेसम्म सहमतिमा नै उम्मेदवार छान्न निरन्तर छलफलमा छौं,' प्रजापतिले भने, ‘सकेसम्म जित्नसक्ने उम्मेदवारको नाममा छलफल भइरहेका छन्।' उनका अनुसार आंकाक्षीको पक्षमा देखिएको जनमत र लोकप्रियता हेरेर उम्मेदवार चयन गरिनेछ।

उम्मेदवार छनोट कार्यविधि, घोषणापत्र समितिका संयोजक देव गुरुङ नेतृत्वमा बनेको प्रतिवेदन अनुसार हरेक उम्मेदवारलाई माथिल्लो कमिटीले अनुमोदन गर्ने नीति बनाइएको छ। ‘वडा अध्यक्ष र सदस्यलाई गाउँपालिका र नगरपालिकाले, नगरपालिकाका उम्मेदवारलाई जिल्लाले, उपमहानगरपालिकाका उम्मेदवार प्रदेशले र महानगरपालिकाका उम्मेदवार केन्द्रीय  कार्यालयले तय गर्ने विधि बनाइएको छ' संयोजक गुरुङले भने, ‘त्यहीअनुसार नामावलीलाई अन्तिम रुप दिन केन्द्रीय कार्यालयले निर्देशन दिइसकेको छ।' उनका अनुसार ९ गते सबै उम्मेदवार टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार १६ गते मनोनयन गरिनेछ।

प्रकाशित: ८ वैशाख २०७४ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App