४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सिंचाईमन्त्री मेयाङ्वामाथि पहिचान पक्षधरहरुको आक्रमण

आन्दोलनकारीले गाडीमाथि तोडफोड गर्न खोज्दै। तस्बिरः महेश्वर

प्रदेश १ का सिंचाईमन्त्रीलाई उदयपुरका पहिचानबादी समूहले कार्यक्रमस्थलबाट लखेटेका छन्। बिहीबार त्रियुगा नगरपालिका ३ भुल्केस्थ्ति सामुदायिक सर्पदंश उपचार केन्द्रको उपकरण हस्तान्तरण कार्यक्रममा सहभागी हुन आएका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री समेत रहेका तिलकुमार मेयाङ्वोलाई पहिचानबादी समूहले आक्रमण गरेका हुन्।

मन्त्री मेयाङवो भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डामा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई ‘पोर्टेबल भेन्टिलेटर’ उपकरण हस्तान्तरण गर्न आएका थिए। उपकरण हस्तान्तरणपछि बाहिर निस्कनेबित्तिकै उनीमाथि पहिचानबादीहरुले बाटो छेकेर नाराबाजी गर्दै कालो झण्डा देखाए। डेढदुई दर्जन युवाहरुको समूहले उनको सरकारी गाडीमाथि ढुंगामुढा  प्रहार गर्नुका साथै गाडीमा राखिएको राष्ट्रिय झण्डा खोसेर फालिदिए भने सँगै रहेकी प्रदेश उपसभामुख सिर्जना दनुवारको गाडीमाथि पनि ढुंगामुढा गरेका छन्।

उदयपुर आउने कुरा सार्वजनिक नगरी आएका मन्त्री मेयाङवो पहिचानबादीको निशानामा पर्ने सुराकी पाएपछि पूर्व निर्धारित रुट भुल्के–मोतिगडा–गाईघाट सडक बद्लेर भुल्के–हडिया–फत्तेपुर खण्डको सडक हुँदै फर्केका थिए। फर्कने रुटका मोतिगडा, गाईघाट खण्डको विभिन्न ठाउँमा कालो झण्डा लिएर पर्खेका पहिचानबादी जमात मन्त्रीले रुट फेरेको जानकारी पाएलगत्तै खैजनपुर, हडिया खण्डतर्फ मोडिएर विरोध प्रदर्शनमा उत्रिएका थिए।

प्रदेश नामाकरण गर्दा पहिचानविरोधी भएको भन्दै आन्दोलनरत ‘प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले घोषित कार्यक्रम अनुसार मन्त्रीको विरोध गरेको जनाएको छ। संघर्ष समिति संयोजक तथा किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले समितिले प्रदेश सरकारका कुनै पनि मन्त्री तथा सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने पूर्व धोषित कार्यक्रम अनुसार मन्त्री र उपसभामुखलाई विरोध गरिएको बताइन्। यसअघि उदयपुर आएका अर्का मन्त्री भक्ति सिटौलामाथि पनि पहिचानपक्षधर समूहले कालो झण्डा देखाउँदै गाडीमाथि ढुंगामुढा गरेका थिए।  

प्रकाशित: २५ जेष्ठ २०८० १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App