६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चौधरीलाई माफीविरुद्धको रिटमा आज सुनुवाइ

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गर्दै आएका रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीको सजाय मिनाहा गरेको थियो। सरकारको निर्णयबमोजिम चौधरी डिल्ली बजार कारागारबाट सोमबार मुक्त भइसकेका छन्।

चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दर्ता भएको हो। रिट निवेदनमा प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ। टीकापुर घटनाबाट पीडित शारदा कठायत बोहोरालगायतले चौधरीको सजाय माफी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन्। कठायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्। जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय ठेकिएका चौधरी डिल्ली बजार कारागारमा थुनामा थिए।  

सरकारले सजाय मिनाहा नगरेको भए अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो। तर सरकारले ‘राजनीतिक सौदाबाजी’मा चौधरीको बाँकी सजाय मिनाहा निर्णय गरेको हो।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ८ जना सुरक्षाकर्मीको ज्यान गएको थियो। सोही अपराधमा चौधरीलाई अदालतबाट जेल सजाय सुनाइएको थियो।  

टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरू बलराम विष्ट र केशव बोहरा, हबल्दार श्यामबहादुर खड्का, पहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद, सहायक हबल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

प्रकाशित: १७ जेष्ठ २०८० ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App