४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन्।  

शनिवार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो कि भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरू सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्टयाउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि बसेको बताए। उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको बताए।

उनले भने, ‘सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बस्दा यो अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर शंका गर्ने गरिएको छ, म विश्वास दिलाउन चाहन्छु, हामी सदनलाई कसरी राम्रोसँग चलाउने भनेर बसेका हौं। साथै देशमा एकथरी मानिसहरू नेपाली जनताले झन्डै ७ दशकभन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्टयाउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस हुँदै छ। त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउन सक्छ भनेर बसेका हौं।’

प्रधानमन्त्री दाहालले पुँजीबजारसम्बन्धीका सेटिङहरू भत्काएको बताए। उनले सरकारले अहिले राजस्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको बताए। उनले सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको बताए।

उनले भने, ‘पुँजीबजारसम्बन्धी त्यहाँ हुने सबै सेटिङलाई हामीले भत्काएका छौं। राजश्व वृद्धि गर्न, त्यसलाई अलि सुदृढ गर्न कडा कदम चाल्नेतिर अघि बढेका छौं। रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौं।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउने गरी हुन लागेको बताए।

प्रकाशित: ६ जेष्ठ २०८० ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App