काठमाडौं – नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास नेपाल–भारत संयुक्त अभ्यास एक्स सुर्यकिरण सोमबारदेखि भारतको पिथौरागढमा सुरु भएको छ । विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जंगल वारफेयर जस्ता विषयहरु समेटिएको बिशेष अभ्यासको ११ औं संस्करण भारतमा हुन लागेको हो ।
नेपाली सेनाबाट प्रमुख सेनानी सुधिर के.सी.को नेतृत्वमा ३१४ जना र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको टोली अभ्यासमा समावेश भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको दशौं संस्करण नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डीमा सम्पन्न भएको थियो । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी अभ्यास सञ्चालन हुँदै आएको छ ।
निर्देशनालयका अनुसार संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् ।
अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पुर्याउन सहयोग पुग्ने निर्देशनालयले जनाएको छ ।
प्रकाशित: २४ फाल्गुन २०७३ १४:२५ मंगलबार