६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसी मोर्चाभित्र मनमुटाव

काठमाडौं- स्थानीय चुनावको चर्को विरोध गर्दै आएको  मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सो चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। मोर्चासँग आबद्ध अन्य ६  दलले भने परिमार्जनसहित संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने भन्दै आयोगमा दल दर्ता गराएका छैनन्। यादवले दल दर्ता गराएकोमा मोर्चाका अन्य घटकका नेता यादवसँग संशकित भएका छन्। मोर्चाका अन्य नेताले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराउन यादवलाई आग्रह गरे पनि उनले नमानेको स्रोतको भनाइ छ।

मोर्चाको मंगलबारको बैठकमा मोर्चाका केही नेताले यादवले दल दर्ता गराएको भन्दै यादवसँग आक्रोश पोखेका थिए। यादवले भने यसबारे पार्टीका अन्य नेतासँग बुझ्ने भन्दै टारेका थिए।

फोरम नेपालका निर्वाचन विभागका संयोजक तथा संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले गत सोमबार निर्वाचन आयोगमा गई दल दर्ता गराएका थिए। उनले दल दर्ता गराउनुअघि मोर्चाका अन्य घटकलाई यसबारे जानकारी गराएका थिएनन्। आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि गत बुधबारसम्म दल दर्ता गराउन आह्वान गरेको थियो।

सचेतक शिवजीले आयोगको आह्वान अनुसार  कानुनी प्रक्रिया पूरा गर्न दल दर्ता गराएको बताए। दल दर्ता गर्ने या नगर्नेमा पार्टीहरू स्वतन्त्र भएको उनले बताए। 'निर्वाचन आयोगमा दल दर्ता गर्ने या नगर्ने भन्ने निर्णय गर्न पार्टीहरू स्वतन्त्र छन्। हामीले गरेको निर्णय हाम्रो हो', यादवले भने। परिमार्जनसहित संशोधन विधेयक पास भए पार्टी चुनावमा जाने पनि उनले बताए।

स्रोतका अनुसार राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सोमबार संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष्य राजेन्द्र श्रेष्ठलाई फोन गरी मोर्चाका तर्फबाट दल दर्ता नगर्ने विज्ञप्ति निकाल्न आग्रह गरेका थिए। श्रेष्ठले स्पष्ट कारण नखुलाई  आफूले विज्ञप्ति निकाल्न नसक्ने बताएका थिए। सोही दिन बानेश्वरस्थित सदभावना पार्टी कार्यालयमा मोर्चा आबद्ध केही युवा नेताले अनौपचारिक रुपमा छलफल गरी आयोगमा दल दर्ता नगर्ने निर्णय गरेका थिए। यसको औपचारिक निर्णय मंगलबार बस्ने मोर्चाको बैठकमा गर्ने सहमति भएको थियो तर सोमबार नै फोरम नेपालले दल दर्ता गराए।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले मधेसी मोर्चासँग आबद्ध फोरम नेपालबाहेक अरु दलले आयोगमा स्थानीय तहको चुनाव प्रयोजनका लागि  दल दर्ता नगरेको बताए। 'उहाँ (फोरम नेपाल) ले दल दर्ता गर्नुभएको मैले पनि सुनें तर दल दर्ता गर्ने मोर्चाका निर्णय होइन', सुमनले भने।

तराई–मधेस सद्भावना पार्टीका सांसद नरेन्द्र साह कलवारले परिमार्जनसहित संविधान संशोधन विधेयक पास नभएसम्म आफ्नो पार्टी चुनावमा नजाने बताए। 'स्थानीय चुनावमा भाग नलिने भएपछि हामीले सो प्रयोजनका लागि दल दर्ता गराएनांै', उनले भने, 'तर परिमार्जनसहित संशोधन विधेयक पास भएमा हामी चुनावमा जान्छौं।'

मिश्रले जुराए पार्टीको नाम 

पत्रकारिकता छाडेर राजनीतमा होमिएका रविन्द्र मिश्रले आफूले गठन गर्ने पार्टीको नाम जुराएका छन्। उनले दलको नाम 'साझा पार्टी' राखेका छन्। चुनाव चिह्न तराजु रोजेका छन्। उनले पार्टीको नाम र चुनाव चिह्न सुरक्षित राखिदिन बुधबार निर्वाचन आयोगमा गई निवेदन दिएका हुन्। 'पार्टीको नाम र चुनाव चिह्न सुरक्षित राख्न हामीले आयोगमा निवेदन दिएका छौं', मिश्रले भने।

प्रकाशित: १९ फाल्गुन २०७३ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App