३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

धमाधम ‘हाई प्रोफाइल’ मुछिँदा अनुसन्धानमा आशंका

नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम ‘हाई प्रोफाइल’ व्यक्ति आरोपले डामिन थालेपछि अनुसन्धान प्रभावकारी हुनेमा शंका उत्पन्न हुन थालेको छ। प्रकरणसँग एकपछि अर्को गर्दै आधा दर्जनभन्दा बढी हाई प्रोफाइल व्यक्तिको नाम जोडिएको सार्वजनिक हुन थालेपछि अनुसन्धानमा आशंका उत्पन्न भएको हो।

यस विषयमा नेपाल प्रहरीका पूर्वअधिकारीहरू नै बढी संशय व्यक्त गरिरहेका छन्। ‘प्रहरीले अहिलेसम्म गरिरहेको अनुसन्धान स्यालुटयोग्य छ। प्रहरीले पूर्वउपप्रधानमन्त्री र सरकारका बहालवाला सचिवलाई नै कस्टडीमा तानी अनुसन्धानको दायरामा ल्याएको छ,’ नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्, ‘तर म पहिलो दिनदेखि नै भनिरहेको छु, जसरी भिआइपीहरूका नाम आइरहेका छन्। त्यसले कतै अनुसन्धानलाई प्रभावित पार्ने त होइन ? मलाई लाग्छ, पछिल्ला दिनमा यसको खतरा झन् बढेको छ।’

प्रहरी अनुसन्धान राजनीतिक हस्तक्षेपभन्दा बाहिर रहन नसक्ने पूर्वडिआइजी मल्लले बताए। ‘जब आरोपितमा भिआइपीको प्रवेश हुन्छ। शक्तिकेन्द्रको इन्ट्रेस्ट पनि बाझिन थाल्छ। त्यसले सरकार नै डगमाउने स्थिति भएपछि प्रहरीमाथि हस्तक्षेप आइलाग्छ। त्यहाँ को अधिकारी छ भन्ने हुँदैन। म नै भए पनि हस्तक्षेपमा पर्न सक्छु,’ उनले भने।

कानुनविद् भीमार्जुन आचार्यले पनि तीव्र गतिमा अघि बढेको प्रहरी अनुसन्धान अहिले निकै सुस्त हुनुले शंका  बढाएको बताए।

उनले भने, ‘प्रहरीको सुरुको काम निकै आक्रामक र आशालाग्दो थियो। अहिले लगभग शून्यतामा पुगेको देखिन्छ।’

अदालतले पक्राउ पुर्जी जारी गरिसकेको व्यक्तिलाई पक्राउ गर्न नसक्नु, आरोप सार्वजनिक भएका व्यक्तिलाई बयानका लागि पनि तान्न नसक्नुले अनुसन्धानमा राजनीति घुसिसकेको बुझ्न सकिने उनले बताए। ‘प्रहरीको यस्तो सुस्तताले प्रस्ट राजनीतिक दबाब परिसकेको संकेत गर्छ,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम ‘हाई प्रोफाइल’ व्यक्ति आरोपले डामिन थालेपछि अनुसन्धान प्रभावकारी हुनेमा शंका उत्पन्न हुन थालेको छ।

राज्य नै अपराधमा संलग्न देखिएको, सिंगो गृहप्रशासन नै ठगी गिरोहको सेटिङमा लागेको देखिने यो प्रकरणलाई सरकारले हलुका ढंगले लिन नहुने पनि आचार्य बताउँछन्। ‘यसमा न सरकार, न ठूला दल कोहीकसैलाई उदार हुने र मुक्ति पाउने छुट छैन। विश्व समुदायले नेपालको अपराध अनुसन्धानको भूमिका हेरिरहेको छ,’ उनले भने, ‘यो घटनाको प्रभावकारी अनुसन्धान भएर कम्तीमा अदालतको ढोकासम्म पुगेपछि विश्वमा नेपालको इज्जत कायम रहन्छ।’

हालसम्मको प्रहरी अनुसन्धानमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रत्यक्ष तानिइसकेका छन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी भएको दोस्रो दिनदेखि उनी फरार भएका छन्। उनका छोरा सन्दीप रायमाझी भने प्रहरी हिरासतमा छन्। यस्तै नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पनि प्रहरी हिरासतमा छन्। उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत छन्। त्यसअघि पाण्डे गृह मन्त्रालयको सचिव रहँदा ठगी गिरोहलाई सहयोग गरेको प्रमाण प्रहरीले फेला पारेको दाबी गरेको छ।

यस्तै एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री रहँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, नेपाली कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत केशव दुलाललगायत व्यक्तिहरू पनि प्रहरी हिरासतमा छन्। हालसम्म आठजना प्रहरी हिरासतमा रहँदा केही व्यक्ति प्रहरीको खोजी सूचीमा छन्। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापालाई समेत प्रहरीले अनुसन्धानको दायरामा राखेको छ।

हालसम्मको प्रहरी अनुसन्धानमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रत्यक्ष तानिइसकेका छन्।

यस्तै केही दिनयता थप भिआइपीहरूमाथि पनि आरोप लागेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, खाणकी पत्नी एवं प्रतिनिधिसभा सदस्य मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनका नाममा पनि अनुसन्धान हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बताएका छन्। पूर्वगृहमन्त्री खाण र अर्का पूर्वगृहमन्त्री रामबहादुर थापाको नाम पनि आरोपितको सूचीमा जोडिएको छ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं प्रतिनिधिसभा सदस्य आरजु देउवा राणा र पूर्वगृहमन्त्री खाँणकी पत्नी मन्जुलाई करोडौं रकम बुझाएको भनिएको अडिओ पनि सार्वजनिक भएको छ। यस्तै दुईजना पूर्वगृहसचिवहरूको भूमिकामाथि पनि सार्वजनिक टीकाटिप्पणी भइरहेको छ।

परिपक्व प्रमाण खोज्दै प्रहरी

यो प्रकरणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौं थप भिआइपीहरूमाथि लागेको आरोपबारे बलियो प्रमाण जुटाउने प्रयासमा रहेको दाबी गर्छ। ‘बाँकीलाई जुन किसिमले आरोप आइरहेको छ, ती आरोपले मात्र स्वतन्त्र रूपमा उहाँहरूको संलग्नता पुष्टि गर्दैन,’ अनुसन्धानमा खटिएका एकजना अधिकारी भन्छन्, ‘यसकारण बलियो प्रमाण खोजिरहेका छौं। त्यो प्रमाण फेला परे बयान वा हिरासतमा राख्नेबारे निर्णय लिइन्छ।’

यो प्रकरणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौं थप भिआइपीहरूमाथि लागेको आरोपबारे बलियो प्रमाण जुटाउने प्रयासमा रहेको दाबी गर्छ।

हालकै आरोप र प्रमाणका आधारमा आरोपितसँग आधिकारिक रूपमा बयान लिने वा नलिनेबारे प्रहरी अझैं निर्णयमा पुग्न सकेको छैन। यता एकपछि अर्को गरी भिआइपीको नाम मुछ्न प्रमुख दल नै लागिपरेका छन्। सुरूमा आफ्ना नेताहरूमाथि जबर्जस्त आरोप लागेर सार्वजनिक भएपछि रक्षात्मक बनेको एमालेले अहिले सत्तारूढ दलका नेताहरूलाई नै मुछ्न थालेको छ। यस्तै पुराना मुद्दाहरूको हवाला दिँदै विषयान्तर गरिरहेको छ।

पूर्वएआइजीको दाबी

यसैबीच नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुईजनालाई कांग्रेस नेता खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन्। टिकटकमार्फत भिडिओ सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन्। करिब २ मिनेट लामो भिडियोमा शर्माले घटनाको संक्षिप्त व्याख्या गरेका छन्। जसमा केशव दुलालले सुरूमा आफ्नी साथी सानु भण्डारीलाई नक्कली भुटानी शरणार्थी बनाउने विषयमा योजना सुनाएपछि सो सिलसिला सुरु भएको बताएका छन्। त्यसपछि भण्डारीले मामा भनेर सम्बोधन गर्ने अहिले फरार रायमाझीसँग सहजीकरण गरी मागेर ठगीको आधार तयार गरेको बताएका छन्।

रामबहादुर थापा गृहमन्त्री भएपछि इन्द्रजित राई सुरक्षा सल्लाहकार भए। रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले। कतिपय पीडितहरूलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो।’ त्यतिखेर पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले मिलेर गृह प्रशासनमा हस्तक्षेप गरेको उनले बताएका छन्। जसमा इन्द्रजित राई आएपछि त्यो हस्तक्षेप थप बढेको उनले बताए।

यसैबीच नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुईजनालाई कांग्रेस नेता खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन्।

त्यतिबेला छुट शरणार्थी समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदल (पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्व) को प्रतिवेदनमा उल्लिखित ४२९ जना छुटेको नामावलीमै १२५ जना नक्कली रहेको एआइजी शर्माले दाबी गरेका छन्। त्यो गोप्य डकुमेन्ट बाहिर ल्याउनमा पनि यिनै व्यक्तिको भूमिका रहेको उनले बताएका छन्।

‘त्यसपछि एमालेको सरकार ढल्यो। शेरबहादुर देउवाको सरकार आइसकेपछि हल्लीखल्ली भयो। कहाँ जाने अब? पैसा पनि लिइसकेको छ। कतिको फिर्ता गरिदिए,’ पूर्वएआइजी शर्माले भनेका छन्। त्यसपछि पैसा फिर्ता नहुनेहरू त्यतिबेलै प्रहरीमा उजुरी लिएर गएको उनले बताए। त्यतिबेलै प्रहरीले दुईजनालाई समातेको उनले दाबी गरेका छन्। उनले अगाडि भनेका छन्, ‘त्यतिखेर कुनै राजनीतिक दबाबमा प्रहरीले छाडेको छ। अब उनीहरूलाई पनि काम गर्न गाह्रो भएपछि उनीहरूले ट्र्याप गर्न थाले।’

प्रकाशित: २६ वैशाख २०८० ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App