२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ: सांसद शाही

कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।

जुम्लाको गुठिचौर गाउँपालिकाको सभा हलमा स्थानीय तहका जनप्रतिनिधि, स्थानीय नागरिक, पत्रकार र कर्मचारीसँग गरिएको भेटघाट कार्यक्रममा शाहीले यस्तो बताएका हुन्।

कर्णाली प्रदेश सरकारले विगतका कमी कमजोरी सच्याएर योजना छनोट तथा बजेट विनियोजन गर्न आवश्यक रहेको उनको भनाइ थियो। प्रक्रिया मिचेर आएका योजनालाई स्थान दिनु हुन्न भन्नेमा आफू प्रष्ट भएको उनको भनाइ थियो।

शाहीले भने, 'विगतका वर्षमा पहुँचका आधारमा आएका योजनामा अनियमितताको कुरा सुनिएको छ। स्थानीय टोल, वडा, पालिका हुँदै जिल्ला समन्वय समितिबाट सिफारिस भई आएका योजनाहरूलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गर्न लगाउनेछु। मैले सबै जिल्लाको वस्तुस्थिति बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु।'

प्रक्रिया मिचेर आएका योजनाहरू कार्यान्वयनमा नल्याउने उनले बताए। सोर्स फोर्सका आधारमा नभई प्राथमिकताका आधारमा काम गर्न तर्फ सदनमा ध्यानाकर्षण गराउने उनको दाबी थियो। 

कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन (प्रीपेड) दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए।

निर्वाचित भइसकेपछि राजनीतिक दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने बताउँदै सांसद शाहीले सुशासनका लागि डेलिभरीमा ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए।

जुम्लाको विशेष गरी प्रदेश (क) क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै उनले प्रमुख समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै गुठिचौर गाउँपालिका कम्प्युटर अपरेटर प्रेमबहादुर शाहीले कर्मचारीका नीति नियम निर्माण गर्दा कर्मचारीलाई हित हुने गरी बनाउन आवाज उठाउन आग्रह गरे। स्थानीय तहमै पेलिएका कर्मचारीलाई विभेदकारी नीति निर्माण आवश्यक नभएको उनले बताए।

गाउँपालिका-१ का वडा अध्यक्ष अर्जुनकुमार महताराले गत असोज महिनामा बाढीपीडितलाई पनि उचित व्यवस्थापनको लागि पहलकदमी गर्न सुझाव दिएका छन्। सामान्य पीडितलाई वडा र पालिकाबाट सहयोग भए पनि घरबार विहीनहरूको अवस्था नाजुक भएको अ‍ाैल्याए।

गाउँपालिका- ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले दानसाँघु हुँदै डोल्पा जोड्ने सडक तर्फ पनि ध्यान दिन सांसद शाहीलाई आग्रह गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, ३ नम्बर वडा अध्यक्ष इन्द्रबहादुर बुढा,-२ का दिपराज ऐडी, ५ का अध्यक्ष कमलबहादुर महत लगायतले सहभागिता रहेको थियो।

प्रकाशित: २५ वैशाख २०८० १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App