२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोर्चा-एमाले वार्ता विफल

काठमाडौं- 'पानी बाराबार' को जस्तै अवस्थामा रहेका एमाले र मधेसी मोर्चाबीच सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताले अघिल्लो साता गरेको प्रयास खेर गएको छ। चिसिएको सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताहरूले विभिन्न चरणमा अनौपचारिक छलफल र संवाद गरेका थिए। एमाले अध्यक्ष केपीले ओलीले समेत तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा  कुराकानी गरेका थिए। ओलीले मोर्चासँग सम्बन्ध सुधार गर्न दोस्रो तहका केही नेतालाई वार्ता गर्न अह्राएका थिए।

मोर्चानिकट स्रोतका अनुसार मोर्चाका नेतासँग अनौपचारिक कुराकानी गर्न ओलीले नै चासो देखाएका थिए।

चिसिएको सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताहरूले विभिन्न चरणमा अनौपचारिक छलफल गरे पनि 'सकारात्मक नतिजा' आएन।

एमाले दोस्रो तहका नेतासँग कुराकानी गरेका मोर्चाका नेता उत्साहित हुनुको साटो असन्तुष्ट भएका छन्। संविधान संशोधन गरेर चुनावमा जाने आफ्नो प्रस्तावलाई एमालेका नेताले नमानेपछि मोर्चाका नेता थप असन्तुष्ट बनेका छन्। खासगरी प्रदेश सीमांकन फेरबदल गर्न एमाले तयार नभएको मोर्चाका नेताले बताएका छन्।

मोर्चाका तर्फबाट एमालेसँग अनौपचारिक वार्ता गरेका हृदयेेश त्रिपाठीले नतिजा सकारात्मक नआएको बताए। 'एमालेले संविधान संशोधन चाहेको देखिएन। संशोधन नचाहनु भनेको चुनाव नचाहनु हो', त्रिपाठीले नागरिकसँग भने, 'हामीले चुनावअघि संशोधन हुनुपर्छ भनेका छौं तर एमाले भने त्यो चाहँदैन।'

एमालेले राजनीतिक निकासका लागि आलटाल गरिरहेको त्रिपाठीको आरोप छ। त्रिपाठी र एमाले नेता विष्णु पौडेलबीच शनिबार भैंसेपाटीमा कुराकानी भएको थियो। त्यस्तै एमाले नेता भीम रावल, पौडेलसहितका नेताले मोर्चाका नेता त्रिपाठी, बृखेशचन्द्र लाल, केशव झा, सर्वेन्द्रनाथ शुक्लालगायतसँग छलफल गरेका थिए।

एमाले र मोर्चाका दोस्रो तहका नेताहरूबीच सम्बन्ध सुधारका लागि अनौपचारिक वार्ता भइरहेका बेला राष्ट्रपति विद्या भण्डारीसँग तमलोपा अध्यक्ष ठाकुरले भेट गरेका थिए।

मोर्चाका अर्का नेता झाले भने, 'एमाले नेताहरूसँग अनौपचारिक कुराकानी भएको हो तर उहाँहरू संविधान संशोधन अजेन्डामा सहमत हुनुभएन।'

मोर्चाका नेतासँगको कुराकानीमा एमाले नेताले सरकार आफैंले  संविधान संशोधन अघि बढाउन नचाहेको भन्दै एकआपसमा सम्बन्ध सुधारका लागि  प्रस्ताव राखेका थिए। 'सरकारले संशोधन अघि बढाएको छैन। तपार्इंहरूलाई अलमल गराइरहेको छ', छलफलमा एमाले नेतालाई उद्धृत गर्दै  मोर्चाका नेता झाले भने।

एमालेलाई देखाएर संविधान संशोधन प्रस्ताव अघि नबढाएको भन्दै मोर्चाका नेता सरकासँग पनि असन्तुष्ट छन्। 'त्यसैले हामीले सोझै एमालेसँग अनौपचारिक र औपचारिक छलफल गर्न खोजेका हौं', मोर्चाका एक नेताले भने, 'तर एमाले आफ्नो अडान छाडेन।'

उता, वीरगञ्जमा आइतबार बसेको सद्भावना पार्टीको विस्तारित केन्द्रीय समिति बैठकले एमालेको निन्दा गदै संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुन नसक्ने जनाएको छ। 'एमाले मधेस विरोधी पार्टी हो। एमालेले संशोधन चाहेको छैन भन्ने हाम्रो पार्टीको बैठकले निर्णय गरेको छ', बैठकपछि सद्भावना पार्टीका महासचिव मनीष सुमनले नागरिकसँग भने, 'एमालेले मधेस मुद्दा सम्बोधन गर्न चाहेको छैन।'

अघिल्लो फागुनको पहिलो साता एमाले र मधेसी मोर्चाबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि उनीहरूबीच करिब एक वर्षसम्म 'पानी बाराबार' को जस्तै अवस्था बन्योे। त्यो वार्ता एमाले संसदीय दलको कार्यालयमा भएको थियो।

एमालेले केही दिनयता  मधेस अभियान सुरु गरेको छ। अभियानकै क्रममा उसले मोर्चासँग संवाद गरेको थियो।

सातामा दुईतीनपटक सरकारसँग वार्ता गर्दै आएका  मोर्चाका नेताले माघ २१ यता भने औपचारिक कुराकानी गरेका छैनन्।  मोर्चाले एकदुई दिनभित्रै बैठक गरी आफ्नो रणनीति तय गर्ने तयारी गरिरहेको एक नेताले बताए।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App