३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

मुलुकको अवस्था नफेरिएको देख्दा दुःख लाग्छ: पुर्वराजा ज्ञानेन्द्र शाह

नेपालगन्जमा बुधबार नागरिक अभिनन्दनमा सहभागी हुने क्रममा पुर्वराजा ज्ञानेन्द्र शाह। तस्बिर: अर्जुन ओली/नागरिक

पुर्वराजा ज्ञानेन्द्र शाहको नेपालगन्जमा बुधबार नागरिक अभिनन्दन गरिएको छ। 

नागरिक अभिनन्दन मुल समारोह समिति नेपालगन्जको अगुवाईमा स्थानीय रामलिला मैदानमा आयोजित अभिनन्दन गरिएको हो। सो क्रममा नेपालगन्जका डेढ दर्जन सामाजिक संस्थाको तर्फबाट पुर्वराजा शाहलाई अभिनन्दन पत्र प्रदान गरियो। नागरिक अभिनन्दन समारोहमा पुर्वराजा ज्ञानेन्द्रसहित पुर्वरानी कोमल शाह, बुहारी हिमानी शाह, छोरी प्रेरणा लगायत सहभागी भए।

समारोहलाई सम्बोधन गर्दै पुर्वराजा शाहले राष्ट्रको पुरानो गौरव राजसंस्था फर्काउनका लागि एक पटक सबै उठ्नुपर्ने बताए। 

‘अब म भन्छु हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं, हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं, यसको निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै जुट्नु पर्दछ,’ उनले भने।

लामो अवधिसम्म पनि मुलुकको अवस्था नफेरिएको भन्दै उनले दुःख ब्यक्त गरे। शाहले थपे, ‘मलाई दुःख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितीमा छ, देशबासीको अवस्था सुधारौं, ब्यवस्था र पद्धति बसालौं, जनतालाई सुख शान्ति र समृद्धि दिऔं।’ केही नीतिहरु मध्ये सर्वश्रेष्ठ नीति नै राजनीति भएको उल्लेख गर्दै पुर्वराजा शाहले राजनीति राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन नसकेको गुनासो गरे।

‘हाम्रा कतिपय नीति, पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो, तर विडम्बना भन्नुपर्छ, हामी राजनीति तथा हाम्रो राज्य ब्यवस्था नेताद्धारा नेताका निम्ती, दलद्धारा दलका निम्ति भइरहेको छ,’ उनले भने।  

बाँके, बर्दिया, दाङ जस्ता उर्वर भुभाग र सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला, धनगढी र भैरहवा सम्मको पहुँच केन्द्र रहेको नेपालगन्ज ठुलो ब्यापारिक उत्पादक, वितरक र प्रेरक केन्द्र मानिएपनि जुन रफ्तारमा यसको चौतर्फी प्रभावकारिता हुनुपर्ने हो त्यो हुन नसकेको शाहले बताए।

‘आपसमा मिलेर बस्ने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गिन  विकासमा राज्यले खेल्नुपर्ने भुमिका गहन छ,’ उनले भने ‘विभिन्न धर्म, वर्ण र समुह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय थलो नेपालगन्जको आगामी अवधिमा धेरै प्रकारले फड्को मार्नुपर्ने खाँचो देखिन्छ, नेपालको बृहत्तर सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भु–भागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगन्जले अग्रणी स्थान राख्न सक्दछ। त्यस तर्फ कदम बढोस् भन्ने हाम्रो आकांक्षा हो।’

प्रकाशित: २० वैशाख २०८० १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App