२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस भाग्दैन’

अधिवेशनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ। तस्बिर: अर्जुन ओली/नागरिक

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस पार्टी नभाग्ने बताएका छन्।

नेपाल ट्रेड युनियन काँग्रेस बाँकेको ७ औं जिल्ला अधिवेशनलाई सोमबार नेपालगन्जमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उनले अहिले मुलुकको आर्थिक अवस्था प्रतिकुल भए पनि काँग्रेसले त्यसको सामना गरेर अगाडी बढ्ने बताए।

‘प्रतिकुल परिस्थितिलाई अनुकूल बनाउनको लागि काँग्रेस स्थापना भएको हो, अहिले राजनीतिक प्रतिकुल परिस्थिति होइन, आर्थिक प्रतिकुल परिस्थिति छ,’ उनले भने ‘काँग्रेस आर्थिक चुनौतीबाट भाग्दैन, राम्रोसँग सामना गर्छ, नत्र हामीले किन राजनीति गर्ने? वर्तमानको चुनौतीलाई काँग्रेसले सामना गर्नुपर्छ।’

आफूहरू विपी कोइरालाको अनुयायी भएको बताउँदै उपसभापति गुरुङले भने, ‘२००३ सालमा यो मुलुकभित्र पार्टी गठन गर्ने अवस्था थिएन, त्यस्तो प्रतिकुल परिस्थितिमा पनि विपी कोइरालाले २००३ सालमा पार्टी स्थापना गर्नु भएको हो, यदि प्रतिकुल अवस्था छ भनेर डराएको भए काँग्रेस पार्टी स्थापना हुने थिएन।’

पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर काँग्रेसकै जिल्ला देखी केन्द्रका नेताहरूले काँग्रेस सच्चिने कि सक्किने? भन्ने गरेको प्रसङ्गमा उनले आफैलाई सच्याउन काँग्रेसका नेता, कार्यकर्तालाई आग्रह गरे। नेतालाई गाली गरेर मात्र ठुलो नेता नहुने उनको धारणा छ। पछिल्लो समयमा केही व्यक्तिले पार्टी छाडेर गएकोतर्फ संकेत गर्दै उपसभापति गुरुङले एक दुई जनाले छाड्दैमा केही फरक नपर्ने बताए।

अर्को प्रसङ्गमा उनले ठुला नेताको सम्पत्ति छानबिन गरेपछि मात्र यो देशमा भ्रष्टाचार नियन्त्रणमा आउने बताए। 

‘ठुला नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले केन्द्रीय समिति बैठकमा कुरा राखेको हु, त्यो मेरो प्रस्ताव मान्दिएको भए अहिले देशभर काँग्रेसको राम्रो प्रभाव हुन्थ्यो, म आज पनि भन्दै छु, त्यो अडानमा छु,’ उनले भने ‘ठुला नेताहरूको सम्पत्ति छानबिन गर्नै पर्छ, कोही नेता डराउँछ भने धनराज गुरुगको सम्पत्ति छानबिन गरेर यो कामको सुरुवात गरौँ।’ 

कालो धन जति अन्यत्रै थुप्रिएका कारण बैङ्कमा पैसा नभएको उनकाे भनाइ थियाे।

अहिलेको चुनौतीलाई सामना गर्न सकिएन भने कुनै पनि पार्टी नरहन सक्ने उनले चेतावनी दिए। ‘इतिहासको काल खण्डमा मात्र पार्टीहरू दर्ज हुने कि चुनौतीको सामना गर्ने? इतिहासको पानामा मात्रै राजनीतिक पार्टी सीमित हुने होइन, चुनौतीको सामना गर्नुपर्छ,’ प्रतिनिधि सभाका सदस्य गुरुङले भने।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौंरले काँग्रेस कमजोर भएको खण्डमा लामो सङ्घर्ष गरेर ल्याएको संविधान नै नरहने अवस्था आउने खतरा औँल्याए।

‘जनताको चेतनाको विकास हुनुपर्छ, तब मात्र मुलुक अगाडी बढ्छ,’ उनले भने ‘आज ७० वर्ष लगाएर ल्याएको संविधानमाथि चारैतिरबाट आक्रमण हुदैछ।’ यो देशमा नेपाली काँग्रेसले मात्र संविधानलाई जोगाउन सक्ने प्रतिनिधि सभाका सांसद राठौरले जोड दिए। ‘अरू पार्टीहरू भोलि के गर्छन्, त्यसको ठेगान हुँदैन, काँग्रेस यो देशको जिम्मेवार र जनताप्रति उत्तरदायी पार्टी हो,’ उनले थपे। 

अधिवेशनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, राष्ट्रिय सभाका सदस्य युवराज शर्मा लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: १८ वैशाख २०८० १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App