१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई गगन थापाको आग्रह: उपचार खर्च आफ्नै खल्तीबाट व्यर्होछु भन्नुहोस्

फाइल तस्बिर।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन्।

सोमवार नेपाल ट्रेड युनियन काँग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन्।

भारतबाट उपचार गरेर आईतवार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए।

उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे। महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनु नहुने उल्लेख गरे।

उनले भने ‘हामीले संसदबाट एउटा कानून बनायौँ। गणतन्त्र भनेको दुई खालको नागरिकहरु हुँदैन भन्यौँ। सबै समान हुन्छ भन्यौँ। त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ। नेपालको राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने। अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने। तर नागरिक चाहीँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने। अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत। यो गर्न पाइँदैन। यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानून बनाएका छौँ। त्यो कानूनलाई संशोधन गर्ने प्रश्तावक मध्येको एक म हुँ। म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहान्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानूनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ। त्यसैले यो कानूनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरुले भनिसकेपछि त्यो चिकित्सकिय कुरा हो। परिवारले गर्ने निर्णयको कुरा हो। तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट। यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दापनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ। म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पु¥याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’

महामन्त्री थापाले काँग्रेसले विगतमा निर्वाचन अगाडी अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए। उनले आगामी दिनमा पार्टीले कुनैपनि दलसँग कहिल्यैपनि गठबन्धन गर्नु नहुने उल्लेख गरे।

प्रकाशित: १८ वैशाख २०८० १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App