१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्न सांसद गुरुङको प्रस्ताव

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताए।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राखे। उनले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए।

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहोर्‍याए।

उनले भने, ‘अहिले हामी पनि अप्ठयारोमा परेका छौं। हामी निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छौं। मुलुक आर्थिक महासंकटमा परेको छ। हामीले पनि यहाँ यी समस्याको समाधान खोज्नै पर्दछ। तर, समाधानको उपाय खोज्ने क्रममा अहिले हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पूँजीगत खर्च भारी रुपमा कटौति गर्न खोजिएको आभास भएको छ। पूँजीगत खर्च कटौति गरेर उभोगतितिर लैजान सकिदैन सभामुख महोदय। संकट मोचनका उपायहरु खोजौं। संकटमोचन गरौं सभामुख महोदय। अष्ट्रेलिया विकसित मुलुक हो। त्यहाँको राष्ट्रिय जनावर कंगारु हो। त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौं कंगारुहरु मार्दैछ। कंगारुको छाला निर्यात गर्दैछन। र, त्यसको माशु पनि प्रयोगमा ल्याउँदैछ। श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ। सभामुख महोदय हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ। बाँदर आतंक फैलिएको छ। हामीले भन्दैछौं–खेतबारी बाँझो राख्नु हुँदैन। कृषिमा आधुनिकीकरण गरौं । कृषिमा बैज्ञानिकीकरण गरौं। हामी एकातिर भन्दैछौं। अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय। यसो गरे कसो होला सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला। यसो भन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ। तैपनि बाँदर आतंकलाई अन्त्य गर्र्नुछ। त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय। ’

उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा संचालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटकपटक दोहो¥याए। 

प्रकाशित: १२ वैशाख २०८० ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App