२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनावमा जुट्न एमाले निर्देशन

पोखरा- आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्न एमाले नेतृत्वले आफ्ना मोर्चा संगठनलाई निर्देशन दिएको छ। एमालेको केन्द्रीय मोर्चा संगठनको आइतबार पोखरामा सुरु भएको राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेलाई पहिलो दल बनाउने गरी गाउँसम्म कार्यकर्ता परिचालन गर्न निर्देशन दिएका हुन्।

'हामीले सरकारलाई दबाब दिएर भए पनि चुनाव मिति घोषणा गराएरै छाड्छौं। २०७४ माघ ७ गतेभित्र चुनाव हुनैपर्छ,' ओलीले भने, 'कुनै पनि हालतमा चुनाव हुन्छ। त्यसका लागि तयारी थालौं।' उनले एमालेलाई बहुमतको दल बनाउनुपर्ने पनि बताए। 'एमाले अहिले प्रमुख दल हो। बहुमत आएपछि पार्टी स्वतः प्रमुख हुन्छ,' उनले भने, 'बहुमत आउँदा बल्ल पार्टी मजबुत हुन्छ।'

सरकारले निर्वाचनसम्बन्धी कानुन नल्याए पनि मिति घोषणा गर्न लगाउने उनले बताए। 'चुनाव गर्न अब १० महिना मात्र छ। एक वर्षको अवधि भएपछि २ महिना यत्तिकै बित्छ। आगामी माघ ७ भित्र घोषणा गर्ने तर, निर्वाचनपछाडि गर्न खोजे त्यो जोखिमपूर्ण हुनेछ,' अध्यक्ष ओलीले भने।

वरिष्ठ नेता माधवकुमार नेपालले जनतामाझ लोकप्रिय बन्न मोर्चा संगठनका पदाधिकारीलाई निर्देशन दिए। 'जनतामाझ पार्टीलाई लोकप्रिय बनाएर शक्ति आर्जन नगर्ने हो भने अरू प्रयास सफल हुँदैन', उनले भने, 'हिजोका मित्र अहिले शत्रु बनेका छन्। त्यही भएर हामीले गाउँ तहसम्म अवस्था बलियो बनाउनैपर्छ।'

स्थानीयदेखि केन्द्रीय तहसम्म पार्टीलाई उत्कृष्ट बनाएर पहिलो दल बनाउन नसक्ने हो भने अरूमाथि भरोसा नरहने उनले बताए। 'देश बचाउनु छ भने एमाले पहिलो दल हुनैपर्छ,' उनले भने। उनले कार्यकर्ता जनतामाझ पुगेको खण्डमा मात्र जनताले साथ दिने बताए। 'जनतासँग हाम्रो सम्बन्ध बाक्लिएको छ वा पातलिएको छ, त्यसको समीक्षा गरौं,' उनले भने, 'बकुल्लाको ध्यान माछामा भएजस्तै हाम्रो ध्यान जनताको घरदैलोमा पुग्नुपर्छ।'

अमेरिकी निर्वाचनमा झैं प्रचार एकातिर, परिणाम अर्कैतिर आउनसक्ने भएकाले त्यसमा गहन अध्ययन गरेर सजग हुनुपर्ने उनले बताए।

प्रदेश नम्बर चारका संयोजक किरण गुरुङले आगामी निर्वानमा पार्टीको मोर्चा संगठनको भूमिका खोजिने बताए। 'एमालेभित्र गुटफुट नरहने गरी अघि बढ्नुपर्छ। पार्टीलाई ध्वंस होइन, निर्माण गर्न लागौं,' गुरुङले भने।

युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले तीन तहकै निर्वाचनमा एमालेको बहुमत आउने गरी योजना बनाउन मोर्चा संगठन भेला भएको बताए।

तीनदिने भेलामा एमालेका २० वटा मोर्चा संगठनमा आबद्ध करिब चार सय पदाधिकारी  सहभागी छन्।

सोही अवसरमा एमालेले आगामी फागुन २१ देखि चैत ५ गतेसम्म मेची महाकाली अभियान सञ्चालन गर्ने जानकारी दिइएको थियो। अभियानको फागुन २१ गते झापामा उद्घाटन हुनेछ भने चैत ५ गते महेन्द्रनगरमा समापन हुनेछ। दुई अवधिमा तराई र पहाडका विभिन्न ३० ठाउँमा आमसभा गर्ने एमालेले जनाएको छ।

जबरजस्ती गरेे अप्रिय स्थिति : ओली

एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। 'विधेयक पास हुने अवस्था आए भोटसोट छाडेर आन्दोलनमा जानेछांै,' उनले भने, 'संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुँदैन। सरकारले विधेयक पास गर्न कमजोर त्यान्द्रा समातेर पार लगाउन खोजेको छ। त्यो सम्भव छैन।' एक पार्टी एक व्यक्ति र एक मन्त्रालय दिएर भोट हाल्न लगाए पनि सम्भव नरहेको दाबी अध्यक्ष ओलीले गरे।

उनले विधेयकमा संशोधन गर्न पनि नसकिने बताए। 'बोक्रो र गुदी फेरेर हुँदैन, अब फिर्ता लिनुको विकल्प छैन,' ओलीले भने। ओलीले सरकारले ल्याएको चारबुँदे प्रस्ताव जनतालाई सेवासुविधा, अधिकार दिन नभई कमजोर पार्नका लागि भएको पनि बताए। 'देशको हितको पक्षमा रहेको सरकार हटाएर अहित गर्नका लागि अहिलेको सरकार बनेको हो,' उनले भने, 'एकताका लागि पहाड र तराई अलग गर्नुपर्छ भनेर सरकारले भन्छ, तर, यो सबै भ्रम मात्र हो।'

प्रकाशित: १० माघ २०७३ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App