सप्तरी-उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताएका छन् ।
सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई बिहीबार निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिए ।
विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।
उनले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील दस्तावेज भएकाले सबैलाई सन्तुष्ट पार्न संविधान संशोधन अवश्यक रहेको बताए ।
सो कार्यक्रममा निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थानका कार्यालय प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।
नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री निधिले नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा संविधान संशोधनपश्चात् निर्वाचन निश्चित हुने भएकाले त्यसको तयारीमा लाग्न जोड दिए । रासस
प्रकाशित: ६ माघ २०७३ ०९:०२ बिहीबार