१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

अमेरिकाको दबावमा प्रचण्ड सरकारले रविलाई सफाई दियोः मोहनविक्रम

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकाको दबावका कारण सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सफाई दिएको बताएका छन्। मंगलबार भरतपुरमा पत्रकारबीच कुराकानी गर्दै महामन्त्री सिंहले अमेरिकी दबावकै कारण सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सफाई दिएको दाबी समेत गरे।

‘दोहोरो राहदानीको कारण रविले चुनाव लड्न पाउँदैनन’ महामन्त्री सिंहले भने, ‘तर सरकारले अमेरिकी दबावमा रविविरुद्ध केही गर्न सकेको छैन।’ रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको उनको दाबी छ। आफ्नो दाबीलाई पुष्टि गर्न उनले भने, ‘रविले दुईटा पासपोर्ट बोकेको स्वयं स्वीकारेका छन्। यस विषयमा सरकारले नै मुद्दा नचलाउने निर्णय ग¥यो। यो नाङ्गो प्रकारको अमेरिकी दबाव हो। प्रशासन र सरकार जोडिएका छन् यसमा।’

रवि लामिछानेलाई अमेरिकी एजेन्ट भनेर लगाइएको आरोप मिथ्या हो कि केही आधार छन्? भन्ने पत्रकारको जिज्ञासामा जवाफ दिँदै महामन्त्री सिंहले भने, ‘अमेरिकामा बस्नेले रविलाई भोट मागेका छन्। भ्वाइस अफ अमेरिकाले रविकै पक्षमा भोट माग्ने काम गरेको छ। इसाई धर्मावलम्बीले रविलाई भोट मागेका छन्। यतिमात्र होइन, रविले एमसिसीको विरोध गरेका छैनन्। स्वर्णिम वाग्लेजस्ता एमसिसी पक्षधर रविसँग मिल्न पुगेका छन्। यिनै परिस्थितिजन्य कारणले गर्दा हामीले रविलाई अमेरिकी एजेन्ट भनेका हौँ।’

नेपालको संसदबाट एमसिसी पारित गराउन अमेरिकाले धेरै वर्ष मिहिनेत गर्नु परेको बताउँदै उनले अमेरिकाले नेपालमा कथित स्वतन्त्र पार्टीमार्फत् आफ्नो रणनीति परिचालन गर्न खोजिरहेको बताए। ‘अमेरिकाले नेपाली काँग्रेसलाई पनि उपयोग गर्ने प्रयत्न गरेको छ। सिआइएको भ्रमपूर्ण सञ्चार सञ्जालले जनतालाई भ्रममा राखेको छ’– उनले भने।  

नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले उसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चामार्फत् चितवन २ को उपनिर्वाचनमा गिलास चिह्न लिएर आफ्ना उम्मेदवार खडा गरेको छ। चुनावमा भाग लिनुको कारण प्रष्ट पार्दै महामन्त्री सिंहले भने, ‘हामीले अमेरिकी साम्राज्यवादविरुद्धको संघर्षका रुपमा यो उपचुनावलाई लिएका छौ। हामीले चुनावको उपयोगमात्र होइन, अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष पनि गरिरहेका छौँ।’

नेपालमाथि अमेरिकी दबाव बढ्दै जाँदा देशमा शान्ति खल्बलिने खतरा बढेर गएको उनको बुझाई छ। प्रतिगमनको खतरा बढेको उनको विश्लेषण छ। ‘अमेरिकाको साम्राज्यवादी नीतिविरुद्ध देशव्यापी संघर्ष गरिरहेका छौँ’ महामन्त्री सिंहले भने, ‘अमेरिकाविरुद्ध हामी एक्लै सफल हुन सक्दैनौँ। त्यसैले यो संघर्षलाई विश्वव्यापी बनाउन पहल गरिरहेका छौँ।’वर्तमान सरकारलाई आफूहरुले समर्थन गरे पनि त्यो पूर्ण समर्थन नरहेको उनको भनाइ थियो।  

प्रकाशित: ६ वैशाख २०८० ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App