१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रविका गाडीचालक थापाको घटनाबारे प्रहरी अनुसन्धानमा

भरतपुर महानगरपालिका–११ स्थित भोजाडमा लामिछाने बसेको भाडाकाे घर । तस्वीर/नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक घरको छतबाट खसेर घाइते भएपछि चितवन प्रहरी अनुसन्धानमा जुटेको छ। सोमबार बिहान करिब ३ः५४ बजे भाडामा लिइएको भरतपुर महानगरपालिका–११ स्थित भोजाडमा लामिछाने बसेको घरको छतबाट खसेको अवस्थामा भेटिएका थिए। घटना हुनुको कारणको खोजिमा प्रहरी लागेको हो। अहिलेसम्म घटनाको बारेमा प्रहरीले कुनै कुरा बाहिर ल्याएको छैन। ‘यो घटना संवेदनशील विषय हो। के कारणले घटना भयो, अहिले भनिहाल्ने अवस्था छैन,’ चितवन प्रहरी कार्यालय चितवन प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं।’ 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सभापति लामिछानेका चालक हुन्। प्रहरीका अनुसार चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ। यसैबीच, चितवन प्रहरीले घटना अनुसन्धानका लागि रास्वपाका महामन्त्री मुकुल ढकालका चालकलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गाडी चालक दिलबहादुर थापासँग आइतबार रातिसँगै सुतेका रास्वपा महामन्त्री ढकालका चालक कालुराम राजवंशी र क्यामेरा मेन कुशल राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। छतको तलाबाट खसेर गम्भीर घाइते भएपछि घटनाको छानबिनका लागि बोलाइएको छ। तर, उनीहरूलाई नियन्त्रणमा लिने नलिनेबारे सोधपुछपछि थाहा हुने कार्कीले जानकारी दिए। कहिलेकाहीँ उनी राति उठेर हिँड्ने समस्या रहेको बताइएको छ।  

रवि लामिछाने बसेको घर साढे दुई तालको छ। घरलाई चारैतिर कम्पाउण्डले घेरिएको छ। माथि घरको छतमा सबैतिर रेलिङ हालिएको छ। सबैभन्दा माथि चालक सुतेको बताइएको छ। तर, सोझै मान्छे खस्ने अवस्था देखिँदैन।  

त्यस्तै, घरमा रवि लामिछाने, उनकी श्रीमती निकिता पौडेल, रास्वापाका केन्द्रीय सदस्य दीपक बोहोरा, उनकी श्रीमती, क्यामेरा मेन दीपेन्द्र तामाङ, कुशल राई, मुकुल ढकालका ड्राइभर कालुराम राजवंशी र असिस्टेन्ट अस्मिता लामिछाने रहेको प्रहरीले जनाएको छ।

घरको छतबाट खसेका थापाको अवस्था अझै गम्भीर छ। उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेसम्म उनको होस खुलेको छैन। घरको दोस्रो तलाबाट खसेर गम्भीर घाइते थापालाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो।

‘उहाँको अहिलेसम्म होस आएको छैन। हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं,’मेडिकल कलेजका उपनिर्देशक डा. सुदीप केसीले भने। उनका अनुसार थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ।

‘बिहान आकस्मिक कक्षमा ल्याउँदा उहाँको अवस्था धेरै गम्भीर थियो। कार्डियोलोजिस्ट, न्यूरो सर्जन, आकस्कि सेवाका इन्चार्ज सबै मिलेर उहाँलाई स्टेबल अवस्थामा ल्याउन सफल भएका थियौँ,’डा केसीले भने ब्रेनको भित्रि भागमा रगत जमेतको छ। टाउँकाको छालामा धेरै घाउँ देखिन्छ।’ बे्रनमा जमेको रगतलाई चिकित्सकले शल्यक्रिया गरेर निकालिसकेका छन्। अस्पताल आउने अवस्थामा थापाको मुटुको चाल समेत थिएन। चिकित्सकले रिभाईव गरेका थिए। अहिले पनि मुटु चाल बढाउने औषधी प्रयोग गरिएको उनले बताए। उनको अहिले भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ। तर, बिरामी गम्भीर रहेको उनले बताए। ‘बिरामी स्टेवल त हुनुहुन्छ तर, क्रिटिकल हुनुहुन्छ,’ उनले भने, ‘अहिले नै उहाँको अवस्था बारे भन्न सकिँदैन।’

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। यसका लागि लामिछानेले पनि उम्मेदवारी दिएका छन्। ‘यस विषयलाई लिएर लामिछानेले राजनीतिकरण नगर्न अपिल गरेका छन्। ‘यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला,’ लामिछानेले भावुक हुँदै आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शड्ढयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। 

प्रकाशित: ५ वैशाख २०८० ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App