२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री अवुधावी प्रस्थान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन्।

युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रतिनिधि, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई बिदाई गरे।  

प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्य रहेका छन्। यस्तै, टोलीमा ऊर्जा मन्त्री जनार्दन शर्मासहित ऊर्जा मन्त्रालयका सहसचिवलगायतका उच्च अधिकारी पनि सहभागी छन्।

प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले युएइका राष्ट्रप्रमुख, सरकार प्रमुख एवम् उच्च अधिकारीसँग आपसी हित, द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवम् उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने कार्यक्रम छ।

शिष्टाचार महापाल अधिकारीले कूटनीतिक सम्बन्ध स्थापना भएपछि युएइमा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण यसअघि नभएको बताए।

प्रधानमन्त्रीले उनका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आपसी हित र द्विपक्षीय चासोका विषयमा आगामी आइतबार द्विपक्षीय कुराकानी गर्ने छन्।

यस्तै आगामी सोमबार समिटको उद्घाटनसत्रमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुनेछ भने सोही दिन सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग आपसीहित र चासोका विषयमा छलफल गर्नेछन्।

वैकल्पिक ऊर्जाका क्षेत्रमा युएइले गरेको विकास संसारका लागि अनुकरणीय रहेको सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्नेछ । सम्मेलनमा ऊर्जाका क्षेत्रमा काम गर्दै आएका ३२ मुलुकका ६०० बढी कम्पनीले भाग लिँदैछन् भने विभिन्न ३० कार्यक्रममा १२५ जना विषय विज्ञले आफ्नो प्रवचन दिने कार्यक्रम छ।

वैकल्पिक ऊर्जाको विकास र विस्तारमा जोड दिने लक्ष्यका साथ समिटको आयोजना गरिएको हो। समिटमा ऊर्जाका क्षेत्रमा पछिल्लो दिनमा विकसित प्रविधि तथा उपकरणको समेत प्रदर्शनी गरिनेछ।

यस्तै समिटमा ऊर्जा मन्त्री शर्माले पनि महत्वपूर्ण सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए। उनका अनुसार समिटमा सहभागी मुलुकका ऊर्जा मन्त्री एवम् ऊर्जा क्षेत्रका जानकारसँग नेपालको लगानीको अवसर एवम् अनुसन्धानको क्षेत्रका काम गर्न आग्रह गरिनेछ ।

वैकल्पिक ऊर्जाका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको इन्टरनेशनल रिन्युएबल इनर्जी एजेन्सीको मुख्यालयसमेत युएइमा नै रहेको सन्दर्भमा समिटबाट नेपालले महत्वपूर्ण फाइदा लिनसक्ने सहसचिव चटौतको भनाइ छ। रासस

 

प्रकाशित: १ माघ २०७३ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App