६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषयः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन्।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गरे।

सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भइरहेको उनको भनाइ छ। उनले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य,मान्यतामाथि प्रहार गरिरहेको बताए। महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाए। उनले नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै नसक्ने बताए।

उनले भने, ‘यस्तो मान्यता स्थापना गर्ने कोशिस गरियो की नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ती हो भन्ने अर्थमा व्याख्या गर्ने कोशिस भयो। र क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भन्ने मान्ने हो, सैह्य हुँदैन भन्ने बदल्ने हो। संविधान कुनै लकिरका फकिर होइन, त्यो बदल्न नमिल्ने चिज पनि होइन। सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भएको छ। अहिले पनि नेताहरु त्यही व्याख्या गरिरहेका छन्। नेकपा एमालेले संविधान मानेन भन्ने अर्थमा व्याख्या गरिरहनुभएको छ। संविधान नमान्ने थुप्रै पार्टीहरुसँग त उहाँहरु सहकार्य गरिरहनुभएको छ। जसले घोषित रुपमा संविधान नै मान्दैन, उनीहरुसँग सहकार्य गर्ने, संसदीय मूल्य,मान्यताभित्र अभ्यासमा रहेको चिजलाई अभ्यास गर्ने सन्दर्भमा प्रहार गर्ने। जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता हो। त्यो विशेषतामाथि प्रहार गर्ने, संविधानमा हस्ताक्षर नगरेका दलहरुसँग सहकार्य गर्ने। हामीमाथि के आरोप लगाउने भन्दा यिनले त संविधान मान्दैनन् भनेर आरोप लगाउने। यो भन्दा अर्को मजाकको विषय के हुनसक्छ?’

प्रकाशित: २९ चैत्र २०७९ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App