२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सर्वोच्चको आदेशले दलहरुलाई सहमतिको बाटो खोलिदिएको छः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव सम्बन्धि सर्वोच्चको आदेशले राजनीतिक दलहरुलाई एठ ठाउँमा बसेर छलफल गरेर सहमतिमा जाने वातावरण बनाएको जनाएका छन्।

बुधबार रिपोर्टस् क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको बताएका हुन्। ‘मैले सहमतिकालागि कोशिस गरिरहेको छु,’ उनले भने, ‘प्रतिपक्षी दलले सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ। अब छिटै राजनीतिक सहमति जुट्छ।’

प्रधानमन्त्री दाहालले निर्वाचनको मिति सदन खोलेर निर्वाचन सम्बन्धी विधेयक टेबल भएपछि र संविधान संशोधन प्रस्तावमाथि छलफल भएपछि निर्वाचनको  घोषणा हुने बताए।  ‘भन्न त जसले जे भनेपनि भयो, तर अब संसद खुल्यो सहमति हुन्छ।’

संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री स्वीकार गरेको हुँ, म प्रधानमन्त्री हुँदा नै मधेशी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छ ।’

सरकार राजनीतिक मुद्दाका साथै विकासका काममा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्दा ओझेलमा पर्ने गरेका छन्, यसपटक मैले विकासका काममा जोड दिएको छु, विकासका कामका केही गरौं भन्ने संकल्पसहित देशभर दौडिरहेको छु । सोजेजस्तै प्रगति नभए पनि सकारात्मक परिणाम देखिन थालेका छन् । राजनीतिलाई विकाससँग जोड्ने मेरो संकल्प छ ।’
 

प्रकाशित: २० पुस २०७३ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App