२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

त्रियुगाको कामकाज सुचारु गर्न सत्तारुढ ६ दलको माग

कार्यालय प्रमुखको सरुवालाई लिएर सदरमुकाम त्रियुगा नगरपालिकाको कामकाज प्रभावित भएको विषयमा सत्तारुढ दलहरुको गम्भीर असन्तुष्टि सतहमा आएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को पठाए पनि नगरले हाजीर नगराएका कारण नगरबासीको सेवा प्रवाहमा गम्भीर प्रभाव परेको भन्दै स्थानीय ६ राजनीतिक दलले विज्ञप्ती प्रकाशित गरी तत्काल कामकाज सुचारु गर्न माग गरेका हुन्।

आईतबार सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजबादी पार्टी), जनता समाजबादी पार्टी (जसपा), लोकतान्त्रिक समाजबादी (लोसपा) र राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का त्रियुगा नगर कमिटीहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल कामकाज सुचारु गर्न माग गरेका हुन्। गएको माघ २७ गते मन्त्रालयले त्रियुगाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी स्वीकृत दरबन्दी अनुसार उपसचिवलाई कार्यालय प्रमुखको रुपमा पठाएकोमा नगरप्रमुखले हाजीर नगराएका कारण नगरपालिकाको सेवा प्रवाहमा अवरोध आएको उनीहरुको ठहर छ।

नयाँ हाकिमलाई हाजीर नगराइएका कारण विगत २ महिनादेखि नगरवासीले पाउनु पर्ने सेवा प्रवाह हुन नसकेको तथा अन्य थुप्रै कामकाज प्रभावित हुन पुग्दा जनताले सास्ती भोग्नु परेको उनीहरुको विज्ञप्तीमा उल्लेख छ। स्थानीय सरकारबाट प्रवाह गर्नुपर्ने सेवा छिटोछरितो, चुस्त दुुरुस्त र प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउनु पर्नेमा जोड दिदै विज्ञप्तीमा तर, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर नगराउदा त्यस्ता सबै सेवाबाट जनता वञ्चित हुनु परेको औँल्याइएको छ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर नगराइएकै कारण २ महिनादेखि जनताले पाउने नियमित सेवा अवरुद्ध हुनुका साथै बैंक खातासमेत रोक्का हुन पुग्दा नगरको आर्थिक पाटोसमेत ठप्प भएर विकास निर्माणका योजनामा गम्भीर प्रभाव परेको पनि विज्ञप्तीमा जनाइएको छ। यस्तो समस्याको तत्काल निकास निकालेर सेवा सुचारु गर्न पनि विज्ञप्तीमा माग गरिएको छ।

विज्ञप्तीमा जनाए अनुसार हाकिमलाई हाजीर नगराइएका कारण नगरसभाबाट स्वीकृत वार्षिक कार्यक्रमहरु विकास निर्माणका सयौँ योजनाहरु प्रभावित भएका छन्। वडा तथा नगरसभाले पारित गरेका विभिन्न योजनाहरुको सम्झौता, निर्माण, अनुगमन र भुक्तानी गर्ने कामहरु रोकिन पुग्दा विकास निर्मणमा गम्भीर असर परेको भन्दै विज्ञप्तीमा एउटा कर्मचारीको हकमा नगरपालिका यसरी अल्झिनु अत्यन्त दुःखदायी घट्ना भएको उल्लेख छ। आर्थिकवर्ष (असार मसान्त) आउन ३ महिना मात्र बाँकी रहेको यो समय धमाधम काम गर्ने अत्यन्त महत्वपूर्ण समय भए पनि हाकिमलाई हाजीर नगराउदा १६ वटै वडा र समग्र नगरपालिकाको बजेट कार्यान्वयनमा गम्भीर बाधा उत्पन्न भएको पनि उनीहरुको तर्क छ।

संयुक्त विज्ञप्तीमा माओबादी त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, काँग्रेस नगर सभापति प्रकाश खड्का, एकीकृत समाजबादी अध्यक्ष जनार्दन रेग्मी, जसपा अध्यक्ष नवराज मगर, रास्वपा प्रतिनिधि उद्धव अधिकारी र उत्तम रिजाल तथा लोसपा अध्यक्ष खुसीलाल ठाकरले हस्ताक्षर गरेका छन्। स्थानीय सरकार सदैव नगरबासीप्रति जिम्मेबार, पारदर्शी र जनमैत्री भएर सुशासनको अनुभूति दिलाउनु पर्ने माग पनि विज्ञप्तीमार्फत उनीहरुले गरेका छन्।  

त्रियुगाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलाई मन्त्रालयले गत माघ २७ गते सरुवा गरी उपसचिव सञ्जय राजलबटलाई पठाएको थियो। मन्त्रालयको कदमप्रति नगरप्रमुख बसन्तकुमार बस्नेतले असहमति जनाउँदै चालु आर्थिक वर्षको अन्त्यसम्म पुरानै कार्यालय प्रमुखबाट काम गर्ने अडान लिएर वनलाई रवाना दिएनन् न त राजलबटलाई हाजीर हुन नै दिए। दुईपटकसम्म हाजीर हुन आएका राजलबटलाई हाजीर गराउनुको साटो मेयर बस्नेतले संविधानको मर्मत र भावना अनुसार नगरपालिकासँग समन्वय र सहकार्य नगरी हाकिम सरुवा गरेकाले असहमति जनाउँदै हाजीर गराउन नसक्ने पत्र लेखेर बोधार्थ राजलबटलाई पनि थमाए।

मन्त्रालयले तोकिए बमोजिम हाजीर गराउन र सरुवा भएका वनलाई रवाना लिएर मन्त्रालयमा जानकारी गराउन भन्दै फागुन ३ गते ताकेतापत्र लेख्यो। तर, निर्देशन लत्याउँदै आर्थिक कारोबारसमेत जारी राखेको भन्दै चैत ९ गते मन्त्रालयले अर्को पत्र लेख्दै नगरपालिकाको आर्थिक कारोबार नयाँ कार्यालय प्रमुखबाट मात्र सञ्चालन गर्ने निर्देशन दिदै सो कुराको बोधार्थ कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) लाई दिएयता आर्थिक कारोबारसमेत ठप्प छ। हाकिम नहुँदा नयाँ योजनाहरुको सम्झौता, निर्माणाधीन योजनाको अनुगमन र सम्पन्न भएकाहरुको भुक्तानीजस्ता सबै का रोकिएपछि नगरपालिकामा चौतर्फी असर परेको ६ दलीय विज्ञप्तीमा जनाइएको छ।  

मेयर बस्नेतले भने नयाँ प्रमुख प्रशासकीय अधिकृत केहीदिनभित्रै लिएर आउने बताएका छन्। सातादिनअघि नै राजधानी छिरेका बस्नेतले अघिल्ला हाकिमको सरुवा भएको तर, मन्त्रालयले पठाएको हाकिमलाई नराख्ने बरु तेस्रो व्यक्ति ल्याउन खोजिरहेको प्रतिक्रिया दिएका छन्। सरकारले नयाँ बजेट ल्याउन योजना तर्जुमा गरिरहेको भन्दै उनले त्रियुगाका लागि महत्वपूर्ण विकास निर्माणका योजनाहरुमा बजेट माग्न बिभिन्न मन्त्रालयमा धाईरहेको पनि बताए।  

प्रकाशित: २६ चैत्र २०७९ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App