२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अमेरिकी सेना किन उपल्लो मुस्ताङ वा मनाङमा अभ्यास गर्न खोज्दैछ?

नेपालमा अमेरिकी सेना मिसन ‘हाई अल्टिच्युड’ तालिममा केन्द्रित हुन थालेको छ। लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ। यसक्रममा अमेरिकी सेना जुनसुकै बेला उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार तालिममै केन्द्रित हुन थालेकाले उनीहरूको मिसन ‘हाई अल्टिच्युड’ तालिम रहेको देखिएको हो। 

केही वर्षअघिदेखि नेपाली सेनाले भारतीय स्थल सेना, अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। गत माघमा अमेरिकी सेनासँग एक्स–बेलेन्स नेल–२३–३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार (जल उद्धार, हवाई उद्धार) सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने गरी संयुक्त अभ्यास गरेको थियो। त्यसमा ४५ नेपाली र १९ अमेरिकी सैनिक सहभागी थिए।

काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा माघ १९ गतेसम्म संयुक्त अभ्यास चलेको थियो। नेपाली सेनाले अमेरिकासहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। त्यसअघि पनि अमेरिकी सेनाले २०७९ साउनमा नगरकोट र छाउनीमा तालिम गरेको थियो। त्यतिबेला नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जनाले तालिम लिएका थिए। 

तर अमेरिकी सेनाले यस्तो तालिम नगरकोट र छाउनीमा मात्र नभई उपल्लो मुस्ताङ वा मनाङमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ। ‘अमेरिकी सेनाले यस्तो तालिम उपल्लो मुस्ताङमा वा अन्य हिमाली जिल्लामा गर्नुपर्ने प्रस्ताव गर्ने गरेको छ,’ सैनिक स्रोतले भन्यो। नेपाली सेनाले भने तालिमको तालिका र स्थानबारे पहिला नै निर्धारण गरेर छाउनी र नगरकोटलाई पठाउने गरेको छ। त्यसैअनुसार उनीहरू सो तालिममा सहभागी हुँदै आएका छन्।

यता नेपाली सेनाको मुस्ताङमा रहेको हाई अल्टिच्युट तालिम केन्द्रमा पनि एकाध सैनिक सहभागी हुने गरेका छन्। २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सञ्चालन हुँदै आएकोमा सुरुदेखि नै अमेरिकाले मुस्ताङ र मनाङमा तालिम सञ्चालनका लागि आग्रह गर्दै आएको छ। 

तर नेपाल सेनाले यस्तो विषयमा सजगता अपनाउँदै संयुक्त अभ्यासलाई सकेसम्म मनाङ र मुस्ताङमा नलाने नीति लिएको छ। सुरक्षा स्रोतका अनुसार मुस्ताङमा सन् १९७५ मा स्थापना गरिएको ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेअर’ स्कुलमा अमेरिकी सेनालाई केही कोटा छुट्याइएको छ।

 तर कति भन्ने जानकारी छैन। ‘सेनाले जुनसुकै क्षेत्रको तालिम लिनुपर्ने हुन्छ, जुनसुकै क्षेत्रको चुनौती सामना गर्नुपर्ने हुन्छ। त्यसैले नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यासका क्रममा यस्तो तालिम हुने गरेको छ, यो अनुभव आदानप्रदानको अवसर पनि हो,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने।  

मुस्ताङको जोमसोममा नेपाली सेनाको आफ्नै तालिम केन्द्र भएकाले त्यहाँ आधारभूत तालिम लिन विदेशी सेना सहभागी हुँदै आएका छन्। विपद्को समयमा उच्च हिमाली क्षेत्रमा राहत तथा उद्धारका लागि खटिन तालिम आवश्यक रहेकाले मुस्ताङमा तालिम केन्द्रको स्थापना भएको हो। सैनिक स्रोतका अनुसार यस्तो तालिम लिन एक वर्षमा १ सय ५० देखि २ सयसम्म अमेरिकी सैनिक नेपाल आउने गरेका छन्। 

उनीहरूले हाई अल्टिच्युडलगायत विभिन्न किसिमका सैनिक तालिम लिनुका साथै अनुभव आदानप्रदान गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजसहितका शिक्षालयहरूमा अमेरिकासहित विभिन्न देशका सैनिक शिक्षार्थी आउने गरेका छन्। मुस्ताङमा सन् १९७५ मा स्थापना गरिएको हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेअर स्कुलमा अमेरिकी, बेलायती तथा विभिन्न युरोपियन मुलुकका सैनिकले ‘बेसिक’ र ‘एडभान्स्ड कोर्स’ लिँदै आएका छन्।

प्रकाशित: २१ चैत्र २०७९ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App