coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाबाट लामिछाने, वाग्ले र खरेल चुनाव लड्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार तोकेको छ। रास्वपाले चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले र बारा–२ मा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपाद्वारा शनिबार केन्द्रीय कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले तीनै जनालाई निर्वाचन लड्न टिकट दिएका हुन्। वाग्लेले शुक्रबार मात्रै कांग्रेसबाट अलग भएको घोषणा गरेका थिए। नेपाल सुशासन पार्टी खोलेर राजनीतिमा लागेका खरेल गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार थिए। त्यसबेला उनी निर्वाचित हुन सकेनन्।

पार्टीबाट निर्वाचन लड्न टिकट पाएपछि सभापति लामिछानेले तीनैजना निर्वाचित हुने दाबी गरे। उनले रास्वपा देशकै ठुलो लोकतान्त्रिक पार्टी बन्ने दाबी समेत गरे। ‘यो संकेत हो, राष्ट्रिय स्वतन्त्र पार्टी देशकै ठुलो लोकतान्त्रिक पार्टी भएर चाँडै खडा हुन्छ,’ उनले भने। वाग्ले र खरेलजस्तै थुप्रै व्यक्तित्व रास्वपामा जोडिन लागेको दाबी पनि उनले गरे। ‘यो जनाउ घन्टी मात्रै हो,’ उनले भने।

वाग्लेले नेपाल बनाउने महाभियानका लागि आफू रास्वपामा प्रवेश गरेको बताए। ‘हामी द्रुत गतिमा नेपाल बनाउने महाभियानमा होमियौं। त्यो घोषणा मैले यहाँबाट गरें,’ उनले भने। वाग्लेले अब आफू फेरि कांग्रेसमा नफर्किने दाबीसमेत गरे। ‘म रास्वपाको साधारण सदस्यका रूपमा यहाँ उपस्थित छु,’ उनले भने, ‘पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ।’

त्यस्तै खरेलले आफू ‘टेस्टेड’ मान्छे भएको दाबी गरे। आफूले इमानदारीसाथ काम गरेकाले जनताले विश्वास गर्ने जिकिर उनले गरे। ‘म इमानदार मान्छे हुँ भन्दा घमण्डी नभन्नुहोला। यो मेरो आधार हो,’ उनले भने।

लामिछाने मंसिर ४ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसद पद खारेज भयो। त्यसैले चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो। तनहुँ–२ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि ती दुवै क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व रिक्त भएको हो। तीनवटै क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि चितवन–२ मा कांग्रेसले पार्टीका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै एमालेले रामप्रसाद न्यौपानेलाई चितवन–२ मा उम्मेदवार बनाउने भएको छ। तनहुँ–१ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराई र एमालेले पूर्वआइजिपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। खनाल मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवार थिए।

बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन्। उनी सत्ता गठबन्धनका केही दलको समर्थनमा उम्मेदवार बन्ने बताइएको छ। यादव मंसिर ४ गते प्रतिनिधिासभा सदस्यका लागि भएको निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।

प्रकाशित: १९ चैत्र २०७९ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App