५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मेलम्ची ब्युँझाउने प्रस्ताव ‘अलपत्र’

खानेपानी वितरण प्रणालीमा समस्या आउने सक्ने

फाइल तस्बिर।

बजेट भाषण मार्फत खारेज गरिएको मेलम्ची खानेपानी विकास समितिलाई ब्युँझाउन मन्त्रिपरिषद्मा लगिएको प्रस्ताव दुई महिना देखि अलपत्र अवस्थामा छ।

खानेपानी मन्त्रालयले गत माघको दोस्रो साता मन्त्रिपरिषद्मा मेलम्ची ब्युँझाउन प्रस्ताव लगेको थियो। हाल उक्त प्रस्ताव मन्त्रिपरिषद्को विधायन समितिमा पुगेको छ।

मन्त्रिपरिषद्बारा तत्काल प्रस्ताव पास नभएमा काठमाडौँमा खानेपानी वितरण प्रणालीमै समस्या आउने मेलम्चीका कर्मचारीहरूको भनाइ छ।

बजेट भाषणमा मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्चीले गर्दै आएको सबै काम अब खानेपानी विभागले गर्नेछ भनी खानेपानी विभागलाई जिम्मेवारी दिइएको थियो। तर व्यवहारमा मेलम्चीको आवश्यकता र औचित्य नसकिएको भन्दै खानेपानी मन्त्रालयले मेलम्ची ब्युँझाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको हो।

मन्त्रालयका सह-सचिव तथा मेलम्ची विकास समितिका कार्यकारी निर्देशक कमल श्रेष्ठले मेलम्ची ब्युँझाउन ढिलो भएमा आगामी वर्षे याममा काठमाडौँमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) तथा मेलम्चीकै आयोजना कार्यान्वयन निर्देशनालयले गर्दै खानेपानी सञ्चालन तथा वितरणमा अवरोध आउन सक्ने बताए।

‘जतिसक्दो चाँडै मन्त्रिपरिषद्बाट प्रस्ताव पास हुन आवश्यक छ। ढिलो भएमा वर्षे याममा खानेपानी सञ्चालनमा समस्या आउन सक्छ’ श्रेष्ठले भने।

बजेट भाषणमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने घोषणा भए पनि मेलम्ची खानेपानी खारेज भएको सूचना राजपत्रमा प्रकाशन भएको थिएन। राजपत्रमा सूचना प्रकाशन नभएसम्म कानुनी रूपमा मेलम्ची खारेज नभएको श्रेष्ठले बताए।

उनका अनुसार साउन यता मेलम्ची कानुनी रूपमा खारेज भएको पनि छैन, यसले काम गर्न पनि पाएको छैन। मेलम्चीले पुनर्जीवन नपाएकोले मेलम्चीमा कार्यरत कर्मचारीहरूले असोज महिना यता तलब खान पाएका छैनन्। तलब नपाए पछि मेलम्चीमा कार्यरत ५२ जना कर्मचारीहरूको ठुलो बिजोग भएको श्रेष्ठले बताए।

‘यतीसम्म कि हाम्रा कर्मचारीहरू गम्भीर बिरामी हुँदा समेत उपचार खर्च दिन सकेका छैनौ’ श्रेष्ठले भने। हाल मेलम्चीमा विकास समिति, करार र निजामती सेवाबाट कर्मचारीहरू कार्यरत छन्। तलब नपाएका कर्मचारीहरू जतिसक्दो चाँडो तलब पाउन माग गर्दै खानेपानी मन्त्रालयमा दिनहुँ जसो गुनासो गर्ने गरेका छन्।

खानेपानी मन्त्रालयका अनुसार मन्त्रिपरिषद्मा लगिएको प्रस्तावमा मेलम्चीको नाम फेर्न प्रस्ताव गरिएको छ। अब मेलम्ची विकास समिति नभएर मेलम्ची तथा काठमाडौँ उपत्यका खानेपानी खानेपानी विकास समिति नाम राखिएको छ। अब काठमाडौँमा मेलम्चीको पानीले मात्र नपुग्ने र त्रिशूली, सिस्नेरीबाट समेत पानीको व्यवस्थापन गर्नु पर्ने भएकाले मेलम्चीको नाम फेरि मेलम्ची तथा काठमाडौँ खानेपानी विकास समिति नाम राखिएको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार खानेपानीले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले पास गरी गठन आदेश राजपत्रमा प्रकाशित भए पछि मात्र कानुनी रूपमा मेलम्ची तथा काठमाडौँ उपत्यका खानेपानी विकास समिति ब्युँझिने छ। त्यसपछि पहिलेका काम पुन सुचारु हुने श्रेष्ठले बताए।

करिब २ हप्ता अघि मेलम्ची लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् विधायन समितिको बैठक बोलाइएको थियो। उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बस्ने भनिएको विधायन समितिको बैठक खानेपानी मन्त्री अब्दुल खाँण अनुपस्थिति भए पछि अन्तिम समयमा स्थगित गरिएको थियो।

खानेपानी मन्त्री त्यसै दिन अमेरिका भ्रमणमा गएका थिए। अमेरिका जान पूर्व तयारी गर्नु पर्ने भएको कारण देखाउनै खाँण विधायन समितिको बैठकमा सहभागी भएका थिएनन्। खान बैठकमा नगए पछि श्रेष्ठ रुष्ट भएर बैठकबाट फर्किएका थिए। अब अर्को बैठक कहिले बस्छ भन्ने विषयमा टुङ्गो नलागेको मन्त्रालय स्रोतको भनाइ छ।

प्रकाशित: १७ चैत्र २०७९ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App