१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अर्थतन्त्र सुधार गर्न जस्तोसुकै कठोर निर्णय गर्न पनि पछि पर्दिनः नवनियुक्त अर्थमन्त्री डा. महत

 नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन्। 

शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले  अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताए। 

उनले मुलुकको अर्थतन्त्र विभिन्न असरका कारण सङ्कटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे। 

अर्थमन्त्री महतले सरकारको साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए। उनले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उल्लेख गरेका छन्। 

उनले राजश्व र कर सङ्कलनका लागि सरकारले करकाप नगर्ने बताए। मन्त्री महतले अर्थतन्त्रलाई आन्तरिक रूपमा चलायमान बनाउनका लागि मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको बताए। 

उनले लघुवित्त र सहकारीहरूमा समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। अर्थमन्त्री महतले जनतामा छाएको निराशालाई आशामा बदल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। 

महतले सङ्कटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने बताए। उनले पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने,‘अहिले नेपालको अर्थतन्त्र सङ्कटमा छ। अर्थतन्त्रलाई सबल बनाउने खालका निर्णय सरकारले लिन्छ। मेरो सम्पूर्ण कोसिस अर्थतन्त्रमा देखिएको सुस्तता छ। त्यसलाई मन्दीमा जान नदिने सुनिश्चितता गर्न आवश्यक छ। राजश्व आपूर्ति सन्तोषजनक छैन। सरकारको साधारण खर्च धेरै छ। यसमा निर्मम हुनै पर्छ। हामी अनिवार्य बाहेकका खर्च कटौती गर्नेछौँ। राजश्व भन्दा बढी छ। सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेको छैन। समग्रमा अर्थतन्त्रमा एग्रिगेट मागको अवस्था कमजोर भएको छ। अर्थमन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्नेगरि निर्णय गर्नेछु। अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ  अर्थतन्त्रलाई आन्तरिक रूपमा चलायमान बनाउनको लागि जुन सक्रियता देखाउनुपर्नेछ त्यसमा मन्त्रालय बढी संवेदनशील हुन आवश्यक ठानेको छु। राजश्वको जुन परिवेश छ। ठुला लगानीकर्ताहरू पनि समस्यामा छन्। लघुवित्त र सहकारीहरू पनि समस्यामा छन्। यसमा राष्ट्र बैंक पनि अहम भूमिका छ। अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर काम गर्न जरुरी छ। जनतामा निराशा छ त्यो निराशालाई आशामा बदल्नुपर्छ। सकारात्मक सोचका साथ लगानी गर्दा हुन्छ। रेट अफ रिटनमा समस्या छ। बैङ्कको ब्याजदर बढेको छ। शेयर बजारमा समस्या छ। निजी क्षेत्रको आत्मविश्वास बढाउन लाग्छु। त्यसको लागि सम्पूर्ण राज्य संयन्त्र र मन्त्रालय अत्यन्त सक्रिय साथ कर्तव्यनिष्ट भएर काम गर्छौँ। हाम्रो पहिलो प्राथमिकता समग्र राज्य एकाकार भएर साधारण खर्च बढी छ। आर्थिक रूपमा समस्यामा छ। सबै चिज गर्छु भनेर सकिँदैन। प्राथमिकताका आधारमा गर्नुपर्छ। जुन तत्काल गर्नुपर्छ त्यसलाई हेरेर काम गर्ने छौँ। हामीले प्राथमिकतामा नराखी साधारण खर्च गरिरहेका छौँ।’

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रूपमा नगद प्रवाहसम्बन्धी समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्। उनले सरकारको नगद प्रवाह अनुसार हरेक महिना कति आम्दानी भयो? कति खर्च भयो? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताए। उनले यसमै आधारित रहेर समिति गठन गर्ने निर्णय गरे। 

प्रकाशित: १७ चैत्र २०७९ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App