२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोसी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शन

कोसी प्रदेश नामकरणको विरोधमा विराटनगरमा गरिएको प्रदर्शन। तस्बिर: चुमन बस्नेत: नागरिक

आन्दोलनको बलमा कोसी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्ने पहिचानवादी नेताहरूले घोषणा गरेका छन्। आइतबार विराटनगरमा आदिवासी जनजाति संगठनहरूगरेको प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरूले आन्दोलनकै बलमा कोसी प्रदेश खारेज गरी पहिचानका आधारमा पुनः नामकरण गर्ने घोषणा गरेका हुन्।

पूर्वमन्त्री गोपाल किराती, लिम्बुवान, कोचीला र शेर्पालुको पहिचान वर्तमान राज्यसत्ताले चोरी गरेका कारण आन्दोलनमा उत्रनु परेको धारणा राखे। पहिचानका लागि आफूहरू अश्रुग्याँस, लठ्ठी मात्रै नभई गोलीसमेत खान तयार रहेको उनले बताए। ‘पहिचानका आधारमा प्रदेशको नामकरणका लागि अश्रुग्याँस, लाठ्ठी मात्रै हैन गोली पनि खान तयार छौं,’ उनले भने, ‘तर, प्रदेश १ लाई पहिचानको नाम नदिई आन्दोलन रोक्नेवाला छैनौं।’

जनताको आन्दोलनले २ सय वर्ष पुरानो राजतन्त्र फालेर श्री ५ को सरकारको साइन बोर्ड सरकारी कार्यालयबाट हटाएको स्मरण गराउँदै कोसी प्रदेश सरकारको साइन बोर्ड पनि आन्दोलनकै बलमा फाल्ने दाबी गरे।

पहिचानवादी नेता कुमार लिङ्देनले गुण्डागर्दी शैली अपनाएर प्रदेशसभामा प्रदेशको नाम कोसी राखिएको बताए। उनले संसद र जनतालाई समेत थाहा नदिई जालझेल गरेर प्रदेश १ को नाम कोसी राखिएको आरोप लगाए।

लिङ्देनले कानुनविपरीत नामकरण गर्दा प्रदेशसभामा गोप्य मतदानको व्यवस्थासमेत नगरी पार्टीको ह्विप लगाएर सांसदहरूलाई कोसीको पक्षमा मतदान गर्न बाध्य पारिएको बताए। उनले कोसी प्रदेश नाम खारेज गरेर पहिचानका आधारमा नामकरण नगरेसम्म आन्दोलन जारी रहने बताए।

अर्का नेता आङ्काजी शेर्पाले प्रदेशको नाम राख्दा जनताले मागै नगरेको नाम राखिएको गुनासो गरे। ‘कोसी प्रदेश नाम कसैले मागैकै थिएन,’ उनले भने, ‘ जनताले पहिचानका आधारमा नामकरण हुनुपर्ने माग गरेका थिए।’ कोण सभालाई सम्बोधन गर्ने पहिचानवादी नेताहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गरे पनि प्रदेशको नाम के राख्नुपर्ने भन्नेबारेमा भने स्पष्ट केहि बताएनन्।

कोणसभा अघि विराटनगरको महेन्द्र चोकमा भेला भएर बिरोध जुलुस निकालिएको थियो। महेन्द्रचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयतर्फ जाने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्रभित्र छिरेर प्रदर्शन गर्न थालेपछि प्रहरीसँग झडप भएको थियो। झडपमा दुई जना प्रहरी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले बताए।

पोखरेलका अनुसार भीडलाई नियन्त्रणमा लिनेक्रममा नेपाल प्रहरीले ७ सेल र शसस्त्र प्रहरीले १७ सेल अश्रुग्यास र ४ राउण्ड हवाइफायर पनि गरेको थियो। प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिएको एसपी पोखरेलले स्पष्ट पारे। विराटनगरमा गरिएको प्रदर्शनमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका थिए। उनीहरूले एमाले र माओवादी को विरुद्धमा पनि नाराबाजी गरेका थिए।

प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए। जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो। कोसी प्रदेश नाम खारेजको माग गर्दै प्रदेश १ का विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरूले विराटनगरमा प्रदर्शन गरेका थिए। 

प्रकाशित: ६ चैत्र २०७९ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App