१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

समानन्तर कमिटी गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

काठमाडौं–नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कातिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै आफूहरुले उठाएका माग सम्बोधन नभए समानन्तर कमिटी गठन गर्ने चेतावनी दिएको छ ।

शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले ७५ वटै जिल्लाको अधिवेशन विधिसम्मत ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका वरिष्ठ केन्द्रीय सदस्य रमेश खरेलले चौथो महाधिवेशन एकताको महाधिवेशन भएकोले सबै तरुणको भावनालाई समेट्नेगरी महाधिवेशन गर्नुपर्ने माग गरे। उनले भने, ‘महाधिवशेन पाँच पटक मिति तोक्दै स्थगित गर्ने काम गरिएको छ, एकलौटी ढंगले महाधिवेशन गर्ने चेष्टा गरिए त्यो हामी कुनै हालतमा मान्दैनौं।’
उनले वर्तमान अध्यक्ष उदयशमशेर राणाले पोखरामा लुकेर पत्रकार सम्मेलन गर्दै महाधिवेशनको नयाँ मिति तोकेकोमा कडा आक्रोश पोख्दै एकलौटी ढंगले महाधिवेशन गरेर आफूहरु त्यसलाई बहिष्कार गर्दै देशव्यापी रुपमा समानन्तर कमिटी गठन गर्ने चेतावी दिएका हुन्।

कार्यक्रममा विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेको उल्लेख गर्दै भने, ‘हामी विधिवत महाधिवशेनको पक्षपाती हौं, तर यहाँ वर्तमान नेतृत्वले हामीलाई विरोधी जसरी चित्रण गरिरहेको छ, यसमा हाम्रो घोर आपत्ति छ।’

सिटौलाले संस्थापन पक्षले ६८ जिल्लाको अधिवेशन भएको दाबी गरेपनि अहिलेसम्म ६५ वटा जिल्लाको मात्रै अधिवेशन भएको बताए। उनले अघि भने, ‘अझैपनि १५ वटा जिल्लामा विधिवत अधिवेशन हुन सकेको छैन्।’ उनले संस्थापन पक्षले जबरजस्ती पेलेरै महाधिवेशन गर्ने हो भने आफूहरु त्यसको विरोध गर्दै जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।
कार्यक्रममा बरिष्ठ नेता एवम् पूर्व अध्यक्ष विनोद कायस्थले तरुण दल अहिलेपनि जनताको आस्थाको केन्द्र भएको भन्दै निरंकुशता हावी भए त्यसलाई कुनै हालतमा नमान्ने बताए । उनले एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले संगठनलाई दिर्घकालिन असर पर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले पनि आफूहरु विधिवत महाधिवेशनको पक्षमा रहेको भन्दै विधि र प्रक्रियालाई मिचेर संस्थापन पक्ष एकलौटी ढंगले अघि बढे सशक्त प्रतिकार गर्ने र देशव्यापी रुपमा समानन्तर समिति बनाउने चेतावनी दिइन् ।

 

प्रकाशित: २० कार्तिक २०७३ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App