काठमाडौं– सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पु¥याएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेका छन् ।
सर्वोच्च र कार्कीको निवास आधा घन्टाको दूरीमा छ तर कार्की तारेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन् । कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो । त्यसको १५ दिनभित्र उनी वा उनको वारेस अदालतमा हाजिर हुनुपथ्र्यो । यसअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा उपस्थित हुनुपथ्र्यो । उक्त मितिमा सार्वजनिक बिदा भएकाले कार्यालय खुलेको दिन अर्थात् कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्ने थियो ।
तर, कार्की त्यसलाई बेवास्ता गरी अख्तियारको सरकारी निवासमा बस्दै आएका छन् । कार्कीले म्याद थमाउन पाउने समय भने बाँकी छ । यस अनुसार तोकिएको अवधिभित्र म्याद थमाउने निवेदन लिएर नआएमा मुद्दा स्वतः पेसी चढ्छ ।
‘अहिलेसम्म कार्की आफैं अदालतमा आएका छैनन्’, सर्वोच्च प्रशासनका एक कर्मचारीले भने, ‘उनको वारेस भएर पनि कोही आएको छैन, अर्को १५ दिन उनले म्याद थाम्न पाउनेछन् ।’ उक्त अवधि कटेपछि मुद्दा पेसीमा चढेर योग्यतासम्बन्धी अन्तिम बहस सुरु हुने ती कर्मचारीले बताए । पेसीमा यसअघि मुद्दाको सुनुवाइ गरेकाबाहेक अन्य न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुने उनले जानकारी दिए ।
सर्वोच्चले अख्तियार प्रमुख कार्कीको योग्यतासम्बन्धी फैसला पुनरवलोकन गर्न भदौ ३१ गते आदेश दिएको थियो । त्यसपछि उनले म्याद तामेलीमा अवरोध पु¥याए । सुरुमा उनले अख्तियारमा रहेर म्याद बुझ्न अस्वीकार गरेका थिए भने घरमा टाँस गर्न अदालतका कर्मचारी जान थालेपछि विदेश भ्रमणमा गई असहयोग गरेका थिए ।
दसैंअघि पहिलो दिन वडा सचिवलगायतले असहयोग गर्दा म्याद तामेली हुन सकेन भने दोस्रो दिन तामेलदार शम्भु खत्री सम्पर्कविहीन भएका थिए । नयाँ तामेलदार जाँदा कार्कीका ज्वाइँ प्रबल थापा नेतृत्वको समूहले अवरोध गरेको थियो । आफ्नै कर्मचारीले असहयोग गरेपछि कात्तिक १ गते नयाँ तामेलदारमार्फत सर्वोच्च कार्कीको नाममा म्याद तामेल गराउन सफल भएको थियो । म्याद तामेल भएको सूचना सार्वजनिक भएपछि त्यसकै आधारमा अदालत आउनुपर्नेमा कार्कीले बेवास्ता गर्दै आएका छन् ।
कार्की म्याद थाम्ने अवधिमा पनि सर्वोच्चमा उपस्थित नभएमा मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्छ र अदालतलाई अटेर गरेबापत उनीमाथि कारबाही हुन सक्छ । म्याद तामेलीको पत्रमै सूचना तामेल भएको मितिले १५ दिनभित्र पेसीमा चढ्ने उल्लेख छ ।
कार्कीका नाममा तामेलीका लागि पठाइएको सूचनामा भनिएको छ, ‘यस अदालतबाट मिति २०७३ भदौ ३१ गते पुनरावलोकनका लागि निस्सा प्रदान गर्ने आदेश भएकोले सो आदेशको प्रतिलिपि साथै राखी जानकारीको निम्ति यो सूचना पठाइएको छ । सो मुद्दामा आफ्नो सबुत प्रमाण लिई तपाईं आफैं वा ऐनबमोजिम वारेसलाई उपस्थित हुन पठाउनुहोला । सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेसीमा चढ्न सक्नेछ ।’ अदालतले म्याद तामेलीकै क्रममा बुझाएको पत्रले समेत तत्कालै उनको मुद्दा पेसी चढ्ने संकेत गरेको छ ।
प्रकाशित: २० कार्तिक २०७३ ०३:०२ शनिबार