१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री दाहालबीच भेट

नेपालको भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहाल शिष्टाचार भेट भेट गर्दै। तस्बिर: प्रदीप वन्त, रासस

काठमाडौँ- नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ।

उच्चस्तरीय सो भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिन अघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप मजबुत बनाएको विचार व्यक्त गरेको मन्त्री डा महतले बताए।

सो अवसरमा प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको सुमधुर सम्बन्ध अरु सुदृढ बनाउँदै लान नेपालका तर्फबाट कुनै कमी रहन नदिने विश्वास दिलाएका थिए। साथै, उनले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमा समेट्नु पर्ने केही विषयलाई समेट्ने प्रयास भइरहेको भारतीय राष्ट्रपतिलाई अवगत गराएका थिए।

भेटमा नेपालका तर्फबाट मन्त्री महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी रहेका थिए। रासस

 

प्रकाशित: १७ कार्तिक २०७३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App