६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नगरकोट सडक अनुगमनमा पुगेका उपप्रधानमन्त्री र स्थानीयबीच भनाभन

भक्तपुरको नगरकोट सडकको अनुगमनमा पुगेका नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र स्थानीयबीच बिहीबार भनाभन भएकाे छ।

सडकको अवस्थाको अवलोकन गर्न मन्त्री आएको थाहा पाएपछि नगरकोट सडक खण्ड अन्तर्गत तेलकोट भन्दा एक किलोमिटर माथि बाँस्कोटा टोलबासीले सडककोवीचमा आएर सवारी रोकेका थिए।

स्थानीयले बाटोकोवीचमा पुगेर सवारीलाई रोक्न खोजेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेका थियो। तर हटाउन नसकेपछि गाडी रोकिएको थियो। त्यसपछि उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली बाहिर आएको थियो। गाडीबाट बाहिर आएर उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयको दुखेसो सुनेका थिए।

स्थानीयको आक्रोश देखेपछि उनले सडक छिटै बन्ने प्रतिवद्धता जनाएका थिए। तर पनि स्थानीयले नौ वर्षमा नौ जना मन्त्री अनुगमनमा आए, अब पनि सडक बन्नेमा विश्वास छैन भनी मन्त्रीसमक्ष आक्रोश पोखेका थिए। तथापि म पहिलो पटक हो मलाई विश्वास गर्नुहोस भनी मन्त्री साम्य बनाई नगरकोट पुग्न गाडीमा चढेका थिए।

तर आक्रोशित भीडले जतिपटक मन्त्री अनुगमन आउने गरे पनि केही नभएको, यसको लागि पुराना पार्टीको भर छैन, रवि लामिछाने, बालेन शाह आउनुपर्छ भनेपछि गाडी चढेका मन्त्री फेरि भीडमा फर्केका थिए। भीडमा पुगेपछि मन्त्री श्रेष्ठ र स्थानीयवीच भनाभन परेको थियो। त्यहाँं झण्डै आधा घण्टा स्थानीयसँंग भनाभन भएकोे थियो। स्थानीयको आक्रोशवीच मन्त्री पनि आक्रोशमा आएपछि मन्त्री र स्थानीयवीच बाझाबाझ नै परेको थियो। घटनाले उग्र रुप लिन थालेपछि उपप्रधानमन्त्री श्रेष्ठलाई थमथम्याउन नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरु पुगेका थिए। 

उपप्रधानमन्त्रीलाई आक्रोशमा नआउन पार्टीका जिल्ला संयोजक सुनिल बासुलगायतका नेताहरु पुगेका थिए। आक्रोशित ठूलो भीडले उपप्रधानमन्त्रीलाई घेरेका थिए। मन्त्री श्रेष्ठ साम्य भएपछि टोली नगरकोटतिर अगाडि वढेको थियो।

अनुगमन टोली कमलविनायक भत्केको पाटीबाट नगरकोटसम्म पुगेको थियो। टोलीमा भारतीय राजदुतको पनि सहभागिता रहेको थियो। साथै विभिन्न नगरपालिकाका प्रमुखहरु, जिल्लाका सुरक्षा प्रमुखहरु, चाँंगुनारायण नगरपालिकाका वडा अध्यक्षहरुसमेत नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित दुईवर्षभित्रमा सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो। सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए। सम्झौताको नौ वर्षसम्म पनि नभएपछि मन्त्री श्रेष्ठ अवस्था बुझ्न सडकमा पुगेका हुन्। सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ। नवौं पटकको म्याद थप अनुसार अहिले फागुन मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने मिति छ। भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो। सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ। तर सडकको अवस्था भने दुरावस्थामै छ।  

प्रकाशित: १८ फाल्गुन २०७९ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App