७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धन ढुक्क एमाले आशावादी

राष्ट्रपति निर्वाचन

रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ

नेकपा एमाले  फागुन २५ गते  हुने राष्ट्रपति  निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा  आशावादी देखिएको छ। गत पुस  १० गते एमालेसहितका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अहिले फेरि नेपाली कांग्रेससहितका दलको गठबन्धनमा छ। कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवाद, लोसपा, नागरिक उन्मुक्त पार्टी,  र जनमोर्चासहितको  नयाँ गठबन्धन बनेपछि राजनीतिक समीकरण फेरिएको छ। यसको असर राष्ट्रपति निर्वाचनामा पर्ने देखिएको छ।

आठ दलीय गठबन्धनलाई चिर्दै राष्टपति निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दाबी एमालेबाट उम्मेदवार सुवासचन्द्र नेम्वाङको छ। माओवादी केन्द्रको अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेतासँग आफूले मत मागिरहेको भन्दै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका हुन्। प्रधानमन्त्री दाहालले आफूलाई शुभकामना दिएको नेम्वाङको दाबी छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठनबन्धनबाट कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल र एमालेबाछ नेम्वाङ प्रतिस्पर्धामा छन्। 

एमालेले संघीय संसदमा प्रतिनिधित्व गरेका कांग्रेसबाहेकका दलहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा नेम्वाङको पक्षमा भोट मागेको छ।कांग्रेसले भने एमालेसहित १३ दललाई पत्र पठाएर राष्ट्रपति पौडेललाई मतदान गर्न अपिल गरेको छ। गठबन्धनमा रहेका आठ दलसँग राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्नेभन्दा पाँच हजार बढी मत छ। अहिले एमाले उम्मेदवार नेम्वाङको पक्षमा उनको पार्टी मात्र देखिएको छ। यस आधारमा निर्वाचनमा पौडेल विजयी हुनेमा गठबन्धन ढुक्क देखिन्छ।

राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेसम्म कतै नखुलेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको मत आफ्ना उम्मेदवार नेम्वाङलाई आउने एमाले बुझाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत नेता आठ दलीय गठबन्धनका उम्मेदवार पौडेलको पक्षमा उभिनुपर्ने मान्यतामा रहेको स्रोतको दाबी छ। पौडेलको पक्षमा उभिने अवस्था नआए राष्ट्रिय प्रजातन्त्र पार्टी मतदानमा सहभागी नहुने नेता निकटहरूको दाबी छ। एमालेले भने नेम्वाङको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीको पूरै र नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ सांसदको मत पर्ने आकलन गर्दै आएको छ। तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेकोे महासचिव वेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्रको केही मत पनि तानिने एमाले विश्लेषण रहेको स्रोतको दाबी छ। ‘धर्म, संस्कृति, जातजातिका आधारमा पनि संघ र प्रदेशसभामा अन्य दलका सदस्यहरूको मत पनि हाम्रा उम्मेदवारको पक्षमा आउँछ,’ एमाले निकट स्रोतले भन्यो, ‘आठ दलभित्रको अन्तरविरोधको लाभ हामीलाई हुन्छ।’

राष्ट्रपति निर्वाचन परिणामा एमालेका पक्षमा पार्न अध्यक्ष केपी शर्मा ओलीले भेटघाट तीव्र बनाएका छन्। एमालेका एक नेताका अनुसार ओलीले बुधबार वामदेव गौतमलाई उनकै निवासमा पुगेर भेटेका छन्। ओलीले गौतमलार्य एमालेमा फर्कन आग्रह गरेका छन्। उनले पार्टीमा ७० वर्षे उमेरहद हटाउने आश्वासन पनि गौतमलाई दिएका छन्। तर गौतमले ओलीको कुरामा ढुक्क हुन नसकेको निकट स्रोतको दाबी छ।

कांग्रेसले राष्ट्रपति निर्वाचनपछि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र एमालेको समर्थन सरकारको नेतृत्व लिन चाहेको भ्रम फैलाएर एमालेले दुई दलबीच अविश्वास सिर्जना गर्न खोजेको आठ दलीय गठबन्धनका एक नेताले बताए। एमालेले फैलाउन खोजेको भ्रमबाट आठ दलीय गठबन्धनमा असर नपर्ने दाबी गर्दै माओवादीका एक पदाधिकारीले भने, ‘उहाँहरू (एमाले नेता) ले कहिले जनजाति, कहिले के भनेर भ्रमित गर्न खोजिरहनु भएको छ। त्यसको केही अर्थ छैन।’ ती पदाधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने निर्णय लिने दाबी गरे। ‘निर्वाचनको दिनसम्म एमालेबाहेक सबै दल एकै ठाउँमा उभिने अवस्था बन्छ,’ ती पदाधिकारीले भने।

प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि धकेलिएको विषयलाई लिएर एमालेले भ्रम फैलाउने प्रयास थालेको भन्दै माओवादीका ती पदाधिकारीले भने, ‘गठबन्धन दलका नेताहरूको सहमतिमै बैठक सारिएको हो।’ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा लाग्नुपर्ने भएकाले बैठक सारिएको माओवादी र कांग्रेस नेताहरूको दाबी छ।

प्रतिनिधिसभाका लागि अहिले ‘बिजनेस’ पनि नभएको र प्राविधिक रूपले केही कठिनाइ पनि देखिएकाले केही दिन बैठक पर सारिएको दाबी कांग्रेसका एक नेताको छ। ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिए पनि हामी विपक्षमा छौं,’ कांग्रेसका ती नेताले भने, ‘कांग्रेस पनि सरकारमा सहभागी भइसकेको छैन, एमालेले सरकारबाट बाहिरिएर सदनमा विपक्षी बेन्च मागिरहेको छ। कांग्रेस र एमाले दुवै विपक्षमा बस्दा अस्वाभाविक देखिने भएकाले तत्काल बैठक रोकौं भन्ने समझदारी भएको हो। चैत ५ गतेभित्र कांग्रेस सरकारमा सहभागी भएर बैठक बस्ने समझदारी भएको छ।’ यस विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीसहितका नेता बुधबार बिहान सभापति शेरबहादुर देउवा निवासमा भेला भएका थिए।

प्रकाशित: १८ फाल्गुन २०७९ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App