२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको निर्वाचन पछि मात्र मन्त्रिपरिषद् बिस्तार हुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचन पछि हुने बताएकी छिन्।

मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन्।

नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताइन्।

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी गराइन्। राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन्। उनले निर्धारित समयभित्रै विश्वासको मत लिइने बताइन्।  

उनले भनिन्,‘प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने जुन संवैधानिक, कानूनी प्रावधान छ, त्यो प्रावधान अनुसार गरिन्छ र समय सीमा पनि त्यसै अनुसार हुन्छ। तर अहिले हामी राष्ट्रपतिको चुनावको नजिक छौँ। राष्ट्रपतिको चुनावको नजिक भइराखेको हुनाले ध्यान त्यतातिर केन्द्रित पनि छ। त्यसकारणले राष्ट्रपतिको चुनाव पछाडी पनि हुनसक्छ। राष्ट्रपतिको चुनाव अगाडी हुन्छ भन्ने कुराको कुनै मिति किटान भएको छैन। त्यसकारण तिथिमिति किटान गरेका छैनौँ। तर संवैधानिक परिधि, सीमाभन्दा बाहिर नजाने गरेर विश्वासको मत लिने कार्यक्रम हुन्छ। नयाँ ढंगको परिस्थिति विकास भएको छ। मन्त्रिपरिषद् बिस्तारको कुरा पनि सम्भवत: मलाई लाग्छ, राष्ट्रपतिको निर्वाचन पछाडी नै यसलाई व्यवस्थित ढंगले, केही छलफल पनि गर्नुपर्ने हुन्छ गठबन्धन दलभित्र। सरकारबाट निस्किसकेको अवस्थामा कुनकुन पार्टी सरकारमा प्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि त्यसपछि मन्त्रिपरिषद् बिस्तार हुन्छ।’

प्रकाशित: १६ फाल्गुन २०७९ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App