२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेकै सांसदले मत नहाल्ने सुचना सुनाइएपछि राष्ट्रपतीको उम्मेदवार बन्नबाट बिच्किए अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको  ‘धोको’ हाललाई टुङगिएको छ।  

नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाएर उनको पार्टी नेकपा एसलाई आफ्नो पार्टीमा ल्याउने योजना सफल पार्न अध्यक्ष ओलीले अघिल्लो साता निकै प्रयास गरे।

तर उनका सबै प्रयास खेर गए। नेपाल अन्तत: नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने गरी आफ्नै गठबन्धनमा अडिक रहे। अध्यक्ष नेपालले नमानेपछि अध्यक्ष ओलीले आफ्ना पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन्।  

आखिर किन मानेनन अध्यक्ष नेपालले ओलीको प्रस्ताव? संसदमा सातौं दलको हैसियतमा रहेको र राष्ट्रिय पार्टी समेत नभएको दलका अध्यक्ष नेपालले राष्ट्रपतिमा कुनै रुची नै देखाएनन। आफु राष्ट्रपति बन्न पाउने र पार्टी पनि एमालेमा एकिकरण हुने अवसर अध्यक्ष नेपालले गुमाएको विश्लेषण पनि भइरहेको छ।

‘एमालेसँग विश्वस्त हुन नसक्दा उहाँले राष्ट्रपतिको प्रस्ताव पन्छाउनु भएको हो’, नेकपा एसका एक नेताले भने। यो त हो नै, तर उम्मेदवार भइसकेपछि एमालेका केही सांसदले मत हाल्दैनन भन्ने पिरलो पनि अध्यक्ष नेपालमा थियो। उनी समक्ष यस्तै सुचना पुर्‍याइएको थियो । त्यसैले होला उनी आफ्नो उम्मेदवारीमा राष्ट्रिय सहमती खोज्दै विभिन्न वार्तामा बसिरहेका थिए।

स्रोतका अनुसार शुक्रबार बिहान अध्यक्ष नेपाल निवास कोटेश्वरमा राष्ट्रिय अनुसन्धान विभागको हवाला दिएर एमालेका आठ संघीय सांसद र १५ प्रदेश सांसदले मत हाल्दैनन् भन्ने सूचना नेपालको कानमा पुर्‍याइयो। ‘त्यही कारणले शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच भएको भेटघघाटमा अविश्वास उत्पन्न भयो’, स्रोतले भन्यो, ‘मैले हार्ने चुनाव किन लड्ने ? माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेसलाई सहयोग गर्नेगरी अघि बढिसके। राष्ट्रपति कांग्रेसले जित्छ, कांग्रेससँग प्रतिस्पर्धा गरेर हार्नुपर्ने अवस्था आउँछ भनेर नेपाल बाहिरिए ।,’  

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले विश्वास दिलाउने आधार दिन्छु भन्दा पनि नेपालले विश्वास गरेनन। र, उनी त्यहाँबाट हिँडेका थिए।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएलगत्तै एमालेले नेकपा एसलाई समेत पत्राचार गरेर पार्टीका रूपमा स्वीकार गरेको छ। शुक्रबार महाराजगन्जको घेटभाटमा दुवै नेताले आफ्ना कमजोरीलाई स्वीकार गरेर अघि बढने र राष्ट्रपतिका लागि नेपालका नाममा सहमति खोज्नेसम्मको कुराकानीमा नेपालले विश्वास गर्न सकेनन्।

तर शनिबार दिउँसो राष्ट्रपति निर्वाचनलाई लिएर एमालेले नेकपा एसलाई औपचारिक पत्र पठाएर ओली र नेपालबीच पहिलाको भन्दा सम्बन्ध सुधार भएको संकेत गरे। एमालेद्वारा नेकपा एसलाई औपचारिक रूपमा पार्टी स्वीकार गरी पत्र नै पठाएको भने यो पहिलोपटक हो। उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमालेले नेकपा एसलाई औपचारिक पत्र पठाएको हो। राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले पुस १० को सहमतिलाई पनि आधार बनाएको छ। तर उक्त सहमतिमा नेकपा एस भने सहभागी थिएन।

प्रकाशित: १४ फाल्गुन २०७९ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App