१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति: मन्त्री आचार्य

मन्त्री आचार्यलाई वाबु उपहार प्रदान गर्दैं यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राई। तस्बिरः महेश्वर

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ का संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति भएको बताएका छन्। मन्त्री नियुक्त भएपछि उदयपुरको पहिलो भ्रमण गर्न आएका मन्त्री आचार्यले पार्टी कार्यकर्ता भेटमा सो कुरा बताएका हुन्।

विभिन्न नगरपालिका र सम्बन्धित मन्त्रालयको अध्ययन गर्ने क्रममा उदयपुरमा २ दिन बिताएका मन्त्री आचार्यले सदरमुकाम गाईघाटमा पार्टी त्रियुगा नगर कमिटीद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा बोल्दै ३२ सीट मात्र संसदमा जिते पनि भूमिकाको हिसावले अत्यन्त महत्वपूर्ण र ‘चाभी’ पार्टी बन्न पुगेको बताए। गत मंसिर ४ गते सम्पन्न संघ तथा प्रतिनिधिसभा चुनावमा माओबादीलाई अंक गणितीय हिसावले चौथो पार्टीमा दर्ज गरे पनि भूमिकाको हिसावले जनताले अत्यन्त महत्वपूर्ण र ऐतिहासिक जिम्मेबारी दिएको बताए।

‘चुनावमा हामीले थोरै सीट जितेकाले स्वभाविक रुपमा हाम्रो पार्टी चौथो दल बन्न पुगेको छ’ मन्त्री आचार्यले भने ‘तर, जनमतको हिसाबले हामीलाई ऐतिहासिक र महत्वपूर्ण जिम्मेबारी आईपरेको छ। यसलाई पार्टीले भरपुर उपयोग गर्दै देश र जनताको पक्षमा काम गर्ने मौका गुमाउनु हुदैन।’ अहिले पार्टी अध्यक्ष दाहालले देशको कार्यकारी प्रमुखको जिम्मेबारीमा पुग्नुले पनि त्यो कुरा पुष्टि भएको आचार्यले बताए। प्रधानमन्त्री नै पाइसकेको अवस्थामा पार्टी ऐतिहासिक महत्वको जिम्मेबारीमा पुगेको कुरा प्रमाणित भइसकेको भन्दै आचार्यले यो अवसरमा जनताको सेवासँगै संगठन मजबुत पार्न नेतादेखि कार्यकर्तासम्म लागी पर्नुपर्नेमा उनको जोड दिए।

मन्त्री आचार्यले उदयपुरको वन, वातावरण तथा संस्कृति पर्यटनबारे कार्यकर्ताहरुसँग जानकारी माग्दै बढीभन्दा बढी जनता लाभान्वित हुने खालका योजनाहरु पार्टी कमिटीमातहत मन्त्रालयमा माग गर्न आग्रह गरेका थिए। आफूले मन्त्री कार्यकालमा प्रदेशभर वन, वातावरण, सस्कृति र पर्यटनको विषयमां देखिने काम गर्न चाहेको भन्दै आचार्यले त्यसका लागि हुनसक्ने खालका कामहरुको छनौट गरी योजना बनाएर प्रस्ताव पेश गर्न आग्रह गरे।  

पैसा कमाउन या अन्य मोजमस्ती नै गर्न चाहेको भए आफू सांसद र मन्त्री नभई पनि गर्न सक्ने ल्याकत राख्ने बताउँदै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थासहितको परिवर्तनलाई संस्थागत गर्दै थप अधिकारका लागि जनताको भावना र चाहना अनुसार काम गर्न राजनीतिमा आएको बताए। आफूहरुलाई मन्त्री भएर जनताको काम गर्नेबाहेक रत्तिभर दायाँबायाँ गर्ने छुट नभएको बताउँदै उनले सरकारलाई तल्लोतहको कमिटीदेखि माथिल्लोसम्म नेता कार्यकर्ताहरुको साथ चाहिएको बताए।  

सरकारमा रहेका नेताहरुले पार्टीको भविष्य र जनताको भाग्य निर्माण हुने खालका रणनीतिक योजनाहरु बनाएर कार्यान्वयन गर्दै संगठन बिस्तारमा जोड दिन मन्त्री आचार्यको आग्रह थियो। उदयपुरका रौता पोखरीलगायत विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलहरुको दीगो विकास गर्दै पर्यटन विकासमार्फत जिल्लालाई समृद्धितर्फ अघि बढाउन सकिने उनको भनाइ थियो।

कार्यक्रममा त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किराती, अध्यक्ष मानबहादुर राई, सचिव कुरुङ राईलगायत नेताहरुले जिल्लाका अत्यावश्यक योजनाहरुको खाका बनाएर मन्त्रालयमा पठाउने भन्दै त्यसका लागि आवश्यक बजेट छु्ट्याउन आग्रह गरेका थिए। मन्त्री आचार्य त्रियुगासँगै उदयपुरका बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाको स्थलगत भ्रमण गरेर स्थानीय नेता कार्यकर्तासँग भेटघाट र सात्क्षात्कार गरेका छन्।

जिल्लाका विभिन्न दर्जन बढी कार्यक्रममा सहभागिता जनाएका आचार्यले त्रियुगा नगरपालिका ११ गाईघाटस्थित किरात राई समुदायको सांस्कृतिकस्थल ‘साकेला पार्क’को स्थलगत अवलोकन भ्रमण पनि गरेका छन्। किरात राई यायोक्खा उदयपुरको निमन्त्रणामा पार्क पुगेका मन्त्री आचार्यलाई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईलगायत पदाधिकारीले किरात संस्कार अनुसार सेतो फेटा (पगरी) गुथिदिएर स्वागत गरेका थिए। सो अवसरमा अध्यक्ष राईले किरात संस्कारमा अनिवार्य प्रयोग गरिने वाबु (चिन्डो) अंकित उपहार मायाको चिनो स्वरुप मन्त्री आचार्यलाई प्रदान गरेकी थिइन्।

स्वागत तथा उपहार ग्रहण गर्दै मन्त्री आचार्यले किरातीहरुको ऐतिहासिक थातथलोलाई आकर्षक पर्यटकीयस्थलमा रुपान्तरण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साकेला पार्कलाई किराती समुदायको साँंस्कृतिक पर्यटकीयस्थलको रुपमा विकास गर्न ठोस योजना बनाएर मन्त्रालयमा प्रस्ताव पेश गर्न पनि उनको आग्रह थियो। प्रस्ताव आए आवश्यक बजेट बिनियोजन गर्न पहल गर्ने आश्वासन उनको थियो।

उदयपुर प्रदेश १ (क) का सांसद एवं माओवादी नेता राजन किराती (बासु) र अर्की सांसद सम्झना तामाङ (योद्धा)सहित रहेका आचार्यले उदयपुरको वन तथा वातावरणक्षेत्रको बस्तुगत अवस्थाबारे डिभिजन वन कार्यालय गाईघाट पुगेर जानकारी लिएका थिए। डिभिजनल वन अधिकृत अम्बिकाप्रसाद पौडेल, सहायक वन अधिकृत तथा अन्य कर्मचारीसँग सात्क्षात्कार गरेका मन्त्री आचार्यले वन तथा वातावरणसँग सम्बन्धित जनताको काम छिटो छरितो ढंगले गरिदिन निर्देशन दिएको सहायक वन अधिकृत जागेश्वर साहले बताए।  

प्रकाशित: ७ फाल्गुन २०७९ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App