२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: पुनः मतगणनाको माग गर्दै अदालतमा परेका उजुरी फछ्र्यौट हुन बाँकी

बैशाखमा भएको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार वशन्तकुमार शर्मा नेपाली कांग्रेसका महेन्द्र केसीसँग १३ मतले पराजित भए। मत परिणाम चित्त नबुझेपछि शर्माले पुनः मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरे। स्थानीय तह निर्वाचन सम्पन्न भएको नौ महिना पूरा हुँदा पनि अदालतले मुद्दाको छिनोफानो नगर्दा उनी निराश छन्।

‘समयमै निर्णय गरिदिएको भए ढुक्क हुन्थ्यो,’ शर्माले भने, ‘अदालतले निर्णय नदिँदा अन्योल भइरहेको छ।’ शर्माका अनुसार आफूलाई प्राप्त मतहरु आयोगले बदर गरिदिँदा निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसकेको हो। ‘निष्पक्ष मतगणना भइदिएको भए जित्थेँ, अन्याय भएकाले अदालतमा उजुरी दिएको हुँ,’ उनले भने, ‘निर्णय अहिलेसम्म आउने हो, अन्यौल छ।’

दैलेखको नारायण नगरपालिका–३ को वडाध्यक्षमा कांग्रेसका लक्ष्मीप्रसाद कोइरालालाई पराजित गर्दै नेकपा एमालेका चन्द्रप्रसाद उपाध्याय निर्वाचित भएको आयोगले घोषणा ग¥यो। ७१ मतले पछाडि रहेका कोइरालाले निर्वाचन परिणाम स्वीकार गरेनन्। पुनः मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरे। उनको मुद्दामा पनि उच्च अदालत सुर्खेतले निर्णय दिन सकेको छैन्।

उच्च अदालत सुर्खेतका अनुसार स्थानीय तह निर्वाचनको परिणाम चित्त नबुझेर पुनः मतगणनाको माग गर्दै १६ वटा उजुरीहरु परेका थिए। ती मध्ये ९ वटा उजुरी फछ्र्यौट भइसकेका छन्। सात वटा उजुरी विचाराधिन छन्। वीरेन्द्रनगर नगरपालिका–११ मा नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर खत्री एमाले उम्मेदवार खिमलाल देवकोटासँग छ मतले पराजित भए।

उनले बदर हुनुपर्ने मतसमेत एमाले उम्मेदवारको पक्षमा गणना भएको आरोप लगाउँदै पुनः मतगणनाका लागि उजुरी दिएका थिए। ‘बदर हुनुपर्ने मतलाई विपक्षी उम्मेदवारको पक्षमा गणना गरेर निर्वाचन परिणाम सुनाइयो,’ खत्रीले भने, ‘निर्वाचन अधिकृतको उक्त निर्णयबाट आफुलाई अन्याय परेकाले न्याय माग्दै अदालत गुहारेको हुँ।’

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि हरेक मतगणनास्थलमा सिसीटिभी क्यामरा जडान गरेको थियो। अदालतले सिसीटिभी फुटेजलाईनै प्रमुख प्रमाणका रुपमा लिने गरेको छ। तर, सिसीटिभी फुटेज नभेटिँदा न्याय सम्पादनमा समस्या भएको उच्च अदालत सुर्खेतले जनाएको छ।

उच्च अदालत सुर्खेतका प्रवक्ता सरोजनिधि वाग्लेले सिसीटिभी फुजेट आउन ढिलो हुँदा फैसला हुन ढिलो भइरहेको बताए। ‘फछ्र्यौट हुन बाँकी रहेका उजुरीसँग सम्वन्धीत प्रमाणपहरु झिकाएका छौं,’ उनले भने, ‘केही महिनाभित्रै बाँकी रहेका मुद्दाहरुको टुंगो लाग्छ।’

उच्च अदालतका अनुसार रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार वसन्तकुमार शर्मा, दैलेखको नारायण नगरपालिका–३ का वडध्यक्ष पदका उम्मेदवार लक्ष्मीप्रसाद कोइराला, सोही वडाका महिला सदस्य पदका उम्मेदवार टिकादेवी जैसी, दैलेखकै भैरवी गाउँपालिका–५ का वडासदस्य पदका उम्मेदवार रामेश्वर जैसी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष पदका उम्मेदवार कुलबहादुर खत्री र सुर्खेतको चौकुने गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेदवार इन्द्रप्रसाद ढकाल र यामबहादुर विकको उजुरी फछ्र्यौट हुन बाँकी छ।  

प्रकाशित: १५ माघ २०७९ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App