१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्ने माओवादी केन्द्रको निर्णय

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ।

दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतीका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो। एमाले सहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतीमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उनको भनाइ छ।

उपाध्यक्ष महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमती कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ। राष्ट्रिय सहमती कहाँ हुन्छ? राष्ट्रिय सहमती खोज्ने हाम्रो नीति छ। राष्ट्रिय सहमती हुन्छ कि हँदैन? त्यो बाँकि छ। तर हाम्रो मत भने त्यो हो। अरु पार्टीसँग छलफल गर्न हुन्छ। एमालेसहितको राष्ट्रिय सहमतीमा जाने हो। त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन। राष्ट्रिय सहमती कायम गर्न पहल गर्ने हो।’

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धि प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धि प्रतिवेदन बैठकमा पेश गरेका थिए।

पार्टी एकतासम्बन्धि प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ। त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताए।  

बैठकले स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रिय कमिटीका नेताहरुको कार्यविभाजनको ठोस प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टीमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। बिहीबारबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सी १६ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: १३ माघ २०७९ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App