१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

निस्वार्थ सक्रियताले सफलता

सिरहा- ०५७ साल असार ५ गते। द्वन्द उचाइमा थियो। रोल्पाबाट सुरु भएको माओवादी लडाइँ मधेसका गाउँ/सरहमा झाँगिँदै थियो। सिरहामा कांग्रेसको बलियो पकड थियो। कांग्रेस नेता चन्द्रनारायण यादव देशमै सबैभन्दा बढी मत ल्याएर जिल्ला विकास सभापति निर्वाचित भएका थिए। जनताको पीडा सुन्ने र मलम लगाउने भएपछि जिल्लाभर उनको हाइहाई थियो।

सधैं बिहानी यात्रामा निस्किने, बाटोमा जनता र समर्थकका कुरा सुन्ने उनको दैनिकी थियो। घर फर्केपछि पनि उनी कार्यकर्ताको जमघटमा व्यस्त हुन्थे।

तर, ०५७ असार ५ गते बिहानी यात्रामा निस्केका चन्द्रनारायण घर फर्केनन्। उनलाई पेस्तोलधारीले गोली हानी घरदेखि ५ सय मिटर पर हत्या गरे। यादव परिवारले उनको हत्या माओवादीबाट भएको दाबी गर्दै आएको छ।

द्वन्द्व उत्कर्षमा भएका बेला चन्द्रनारायणको हत्याले परिवार मात्र नभई जिल्ला कांग्रेस र समर्थकले अभिभावक गुमाएको महसुस गरे।

त्यो बेला कांग्रेसले यादवपत्नी सीतादेवीलाई सक्रिय राजनीतिमा उतार्ने जमर्को गर्‍यो। कांग्रेसको क्रियाशील सदस्य भए पनि श्रीमानको मृत्युलगत्तै उनी राजनीतिमा आउन चाहिनन्। राजनीतिबारे अनविज्ञ थिइनन् तर घरधन्दा र घरमा आउने नेता–कार्यकर्ताको स्वागत–सत्कारमै उनको दैनिकी बितिरहेको थियो।

सिरहा क्षेत्र ३ का सभापति सञ्जयप्रकाश यादवका अनुसार पतिका कारण कांग्रेसका शीर्ष नेतासँग सीताको राम्रो सम्पर्क थियो। कांग्रेसका स्वर्गीय नेताहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका साथै अन्य नेतासमेत उनको घरमा धेरैपटक बसेका थिए।

राजनीतिमा सक्रियताबारे सपना पनि नसोचेकी सीतालाई पतिको मृत्युपछि राजनीतिमा आउन दबाब बढ्दै गयो। कार्यकर्ताको चर्को दबाबसामु उनको जोर चलेन, ०५७ सालको मध्यबाट सक्रिय राजनीतिमा होमिइन्।

०५८ सालको नवौं जिल्ला अधिवेशनले उनलाई निर्विरोध जिल्ला सभापति चयन गर्‍यो। त्यतिखेर उनी देशकै एक्ली महिला सभापति थिइन्। ‘त्यो घटना (०५७ असार ५ गते) नभएको भए सायद म राजनीतिमा आउने थिइनँ,’ उनी सम्भि्कन्छिन्। शालिन स्वभावकी उनलाई सिरहावासी तुलनात्मक रूपमा निस्वार्थ राजनीतिकर्मीको रूपमा चिन्छन्।

मधेसी महिलालाई सक्रिय राजनीति गर्न उति सहज वातवरण थिएन। त्यसमा पनि एकल महिलाका लागि झनै चुनौती थियो। उनलाई सक्रिय राजनीतिमा आउन छोरा डा. सुभाषले साथ दिए। सुभाष भर्खर एमडी पढाइ सकेर चिकित्सा पेसामा लागेका थिए। ‘सहकर्मी राजनीतिकर्मीको सहयोग, सद्भाव र छोराको साथले मलाई राजनीतिमा ऊर्जावान बनाइरहेको छ,’ उनले भनिन्।

त्यसैले होला उनी लगातार तीनपटक जिल्ला सभापति बन्न सफल भइन्। नवौं, दसौं र एघारौं अधिवेशनबाट उनी सभापति निर्वाचित भएकी हुन्। पहिलोपटक निर्विरोध भएकी उनले पछिल्ला दुई चुनावमा भने प्रतिस्पर्धा गर्नुपर्‍यो।

०६२/०६३ को जनआन्दोलनमा जिल्लाभरिका कार्यकर्ताको नेतृत्व गर्दै उनी काठमाडौंसम्म पुगिन्। जनआन्दोलनका संयोजक गिरिजाप्रसाद कोइरालासँगै सडकमा खटिइन्। त्यही योगदानको कदर गर्दै पार्टीले उनलाई अन्तरिम व्यवस्थापिका संसद्मा मनोनीत गर्‍यो।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र ३ बाट संविधानसभा सदस्य पदमा उम्मेदवारसमेत भइन् तर माओवादी उम्मेदवारसँग पराजित भइन्।

दोस्रो संविधानसभा निर्वाचन (०७०) मा पुनः सोही क्षेत्रबाट टिकट पाइन्। र, जितिन् पनि।

पार्टीको बाह्रौं महाधिवेशनमै केन्द्रीय सदस्य दाबी गरेकी उनले तेह्रौं महाधिवेशनमा पदाधिकारीमै उम्मेदवारी दिने इच्छा देखाइन्। नेताहरूले पदाधिकारीमा नउठ्न सम्झाए तर कार्यकर्ताको सद्भाव र समर्थन आफूसँग भएको भन्दै उनले पछाडि हट्न मानिनन्। ‘अन्ततः उहाँले आफ्नो खेमाका नेतृत्वको विश्वास कायम राख्दै जित हात पार्नुभयो,’ छोरा सुभाष सम्झन्छन्।

उनको जितका पछाडि द्वन्दपीडित एकल महिलाको विरासतले महत्वपूर्ण भूमिका खेलेको थियो। उनको विजयमा बल थप्ने काम तेस्रो मधेस आन्दोलनले गर्‍यो। मधेस आन्दोलनका जायज माग सम्बोधन गरी आन्दोलनलाई सुरक्षित अवतरण गराउन पार्टी नेतृत्वसँग लबिङ गरिरहेकै बेला आन्दोलनकारीले उनको घरमा आगो झोसिदिए। उनको गाडी र बैठक घर जल्यो।

राजनीतिमा जे पनि जायज हुन्छ भन्ने भनाइ उनको जीवनमा पनि लागू भएको छ। माओवादी द्वन्द्वको चरम पीडा भोगेकी उनले अहिले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी छन्। कर्मपथमा निस्वार्थ लागेकै कारण यहाँसम्मको सफलता पाएको उनी बताउँछिन्।

प्रकाशित: १२ भाद्र २०७३ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App