२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

अन्तरजातीय विवाहमा दलित युवाको हत्याका विषयमा प्रधानमन्त्रीको चासो

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तरजातीय बिवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे गृहमन्त्री, गृहसचिव र  प्रहरी प्रमुखसँग जानकारी लिने बताएका छन्।  बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काभ्रे घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको भन्दै तुरुन्तै गृहमन्त्री, गृहसचिव र आइजीपीलाई बोलाएर घटनाको यथार्थ बुझ्ने बताएका हुन्।

‘तपाइँहरुले घटनाको जानकारी गराउनुभयो, त्यसका लागि धन्यवाद,’ प्रधानमन्त्रीले भने,‘यो गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना हो । म तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर यसबारे जानकारी लिन्छु र आवश्यक प्रक्रिया अघि बढाउँछु।’

भेटमा प्रधानमन्त्रीले गरीबका लागि सरकार, मन्त्रिपरिषद्मा दलितहरुको प्रतिनिधित्व र देशभरीका दलितका बच्चाहरुको जन्मदर्तामा प्रोत्साहन भत्ता दिने जस्ता निर्णय दलित र अन्य उत्पीडित वर्गतिर फर्कने सोचसहित आएको बताए।

बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन्। दलित अगुवाहरुले काभ्रे जिल्ला पाँचखाल–६ का अजित (ढकाल) मिजारको अन्तरजातीय बिवाहका कारण हत्या भएको भन्दै त्यसको निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

अगुवाहरुले हत्यामा केटी पक्षका आफन्त र स्थानीय प्रशासनकोसमेत मिलेमतो रहेको भन्दै प्रधानमन्त्रीसँग केन्द्रीय तहमा छानविन समिति बनाउन, पीडकलाई कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए।

 

प्रकाशित: ८ भाद्र २०७३ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App