१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रीका थरीथरी ‘स्टन्ट’

भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित माओवादी केन्द्रका नेता सुदन किराती माघ ३ गते संघीय सरकारको मन्त्री बने। आफ्नै पार्टी माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाए। मन्त्री पदको शपथअघि नै सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस लेखेर सबैको ध्यान खिचेका उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा फेरि यस्तैगरी सञ्चार-माध्यमको ध्यान तान्ने प्रयास गरे। उनले आफ्नो मन्त्रालयको गेटमै सहयोग पेटिका राखे। त्यहाँबाट उठेको पैसाबाट दुर्गम हिमाली जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने जनाए। राज्यको नीति निर्माणको थलो संसद र सरकार दुवै ठाउँमा पुगेका सुदनको भूमिका दुर्गम क्षेत्रमा शिक्षाको पहुँच कसरी पुर्‍याउने भने नीति निर्माणमा केन्द्रीत हुनुपर्ने थियो। तर, चर्चामा आउन उनले आफ्नो भूमिका र जिम्मेवारी भुलेर चन्दा बाकस राखेर चर्चामा आउने बाटो मात्र रोजेको मन्त्रालयकै कर्मचारीहरूको बुझाइ छ।

मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए। खादा, माला बुकेको सट्टा त्यस बरारबर रकम चन्दा बाकसमा खसालेर सहयोग गर्न उनले आग्रह गरे। मन्त्रीको चाहना अनुसार पर्यटन मन्त्रालयका कर्मचारीले गेटमै पारदर्शी सहयोग पेटिका राखेको छ।

मन्त्रालयका एक उपसचिव भन्छन्, ‘मन्त्री जस्तो व्यक्तिले कुनै काम गर्न चन्दा उठाउनु पर्दैन। भ्रष्टाचार र बेथिति शून्य गरे पुग्छ। त्यसैले मन्त्रालयको गेटमै चन्दा बाकस राख्नु भनेको स्टन्ट मात्र हो।’ तर मन्त्री किरातीसँग निकट व्यक्तिहरू भने बुके, माला र खादामा हुने गरेको अनावश्यक खर्चलाई निरुत्साहित गर्नु मन्त्रीको उद्देश्य रहेको बताउने गरेका छन्। दुर्गग हिमाली क्षेत्रमा शिक्षाको स्तर उकास्न सरकारले हरेक वर्ष करोडौं रूपैयाँ खर्च गर्दै आएको छ। यसको लागि सरकारले दातृ निकायबाट पनि सहयोग लिने गरेको छ। पर्यटन मन्त्रालयमा पदभार गरे लगत्तै किराती विमानस्थलको अनुगमन गर्न गएका थिए।

किराती मात्र होइन दाहाल नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का अन्य सदस्यहरू पनि एकपछि अर्को गर्दै चर्चामा आउने उपायको खोजीमा छन्।

समान्य निर्देशनबाट हुने कामलाई हुल नै लिएर अनुगमन र निरीक्षणमा जाने देखि विभागिय प्रमुखहरूलाई दिएको निर्देशनहरू सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्नेसम्म दाहाल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले गर्दै आएका छन्। त्यसको अर्को उदाहरण हुन् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने। पुसको अन्तिम साता लामिछाने काठमाडौबाट चितवन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलभित्र यात्रु ओसार्ने बसमा चढे। त्यो दुरी करिब ३ सय मिटर मात्र थियो। बसमा सिट खाली थियो तर उनी सिटमा बसेनन् र उभिएरै यात्रा गरे। त्यो यात्रा करिब २/३ मिनेटको मात्र थियो। उनी उभिएको भिडियो भारइल बन्यो। जब कि, लामिछाने विमान स्थल पुग्दा भिआइपी गेट प्रयोग गरेका थिए। भिआइपि गेट छिरिसकेपछि उनले बस प्रयोग गरेका थिए। भिआइपी गेट छिरेको भिडियो भने बनाइएन।

लामिछानेले प्रमुख जिल्ला अधिकारीको सरुवामा एउटा कार्यविधि बनाए। कार्यविधिकौ खुवै प्रचार भयो। कार्यविधि लागु भएको २ दिन नबित्दै कार्यविधिको उल्लंघन गर्दै प्रमुख जिल्ला अधिकारीको सरुवा गरिए। लामिछाने संसदमा निर्वाचित भए लगत्तै उनले कुखुरा पालन व्यवासीयको समस्या सामाधान गर्न भनी भिडियो लाइभमै प्रहरी अधिकारीलाई अह्राएका थिए। गृह मन्त्रालमा नियुक्त भएलगत्तै उनले परराष्ट्र मन्त्रालयका मातहतमा रहेको राहदानी विभागको कार्यालयमा अनुगमान गर्न गएका थिए। टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्दा पिर्के सलामीको विरोध गर्थे तर उनले आफै पिर्के सलामी लिए।

माघको पहिलो साता वीर अस्पतालले सुरु गर्न लागेको ल्याब सेवा उद्घाटन कार्यक्रम निकै रोमाञ्चक बन्यो। एउटै कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले सँगसँगै गरे। यतिसम्म अनौठो थिएन। मन्त्री र राज्यमन्त्रीले एकै ठाउँमा राखिएका दुई वटा अलग अलग रिबन काटे। सामाजिक सञ्जालमा यसको चर्चा छ।

वीर अस्पतालका एक कर्मचारी भन्छन्, ‘स्वास्थ्यमन्त्री पदम गिरीले काट्ने कार्यक्रम तय गरिएको थियो। त्यसैअनुसार अतिथिहरूलाई निमन्त्रणा गरिएको थियो। तर स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले ल्याब सेवाको उद्घाटन आफूल गर्नुपर्ने अडान राखिन्। यसपछि अस्पतालका कर्मचारीहरूलाई समस्या पर्‍यो। अन्ततः दुईवटै मन्त्रीलाइ खुसी गराउन अन्तत: दुईवटा रिबन राख्ने कार्यक्रम तय गरियो।’ स्वास्थ्य मन्त्रालयका पदभार गरेर मन्त्री गिरी कान्ती बाल अस्पतालमा अनुगमन गर्न पुगेका थिए। स्वास्थ्यक्षत्रको सुधारका लागि सरकार र विभागीय मन्त्रीले नीति निर्माण गर्ने र त्यसको कार्यान्वयनका लागि निर्देशन दिने हो। तर, सुरुमा चर्चा बढुल्न हतारहतार अनुगमनका लागि दौडनमै मन्त्रीहरूके ध्यान केन्द्रित भएको देखिन्छ।

मन्त्रिपरिषद्का अन्य सदस्यहरू निरन्तर चर्चामा आएपछि अर्का उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयबाटै निर्देशन दिनुपर्ने ठाउँमा चर्चामा आउन सडकमै पुगेर ठेकेदारलाई निर्देशन दिए। पुस ११ गते भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले २९ गते लाजिम्पाट, सोह्रखुट्टे, भैंसेपाटी, जावलाखेल क्षेत्रका सडकको अनुगमन गर्न गएका थिए। सडकमा देखिएका खाल्टा नपुरेको भन्दै ठेकेदारसँग उपप्रधानमन्त्री झोक्किएको तस्बिरहरू सार्वजनिक भएका थिए।

दाहाल नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा मात्र होइन अघिल्ला सरकारमा सहभागी सदस्यहरूले पनि चर्चामा आउनका लागि यस्तै काम गर्दै आएका थिए। तर, परिणाममा कुनै परिवर्तन नआउँदा जनताले मन्त्रीका यस्तो गतिविधि रुचाउन र विश्वास गर्न पनि छाडेको कर्मचारीहरू बताउँछन्। ‘मन्त्रीले यस्तो गर भनेपछि गर्नैपर्‍यो,’ भौतिक पूर्वाधारका एक कर्मचारीले भने, ‘राम्रो नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्‍यो भने मन्त्री त्यसै चर्चामा आउँछन्। सडकमा मान्छे बोलाउँदै नाटक गर्नु आवश्यकै छैन।’

प्रकाशित: ९ माघ २०७९ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App