१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री गिरी

फाइल तस्बिर।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सबै पर्वले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने बताएका छन्। मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा उनले शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपेर सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम रहोस् भनेका छन्।

उनले नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिअनुसार मनाउँदै आएको बताएका छन्।

‘समग्रमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मकर सङ्क्रान्ति एवं माघी पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ’, उनले भने, ‘हर्ष, खुसी र मनोरञ्जनपूर्वक मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको छ। मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरूको संरक्षण गर्नु सबैको दायित्व हो।’

लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ। मुख्यमन्त्री गिरीले ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’ भन्ने मूलमन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ प्रदेश सरकार अघि बढेको उल्लेख गरेका छन्।

प्रकाशित: १ माघ २०७९ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App