५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्छ: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्नसक्ने अभिव्यक्तिको दिएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताए।

उनले देशमा विद्यमान चुनौतिहरुलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्याहरु समाधान हुन्छ ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्तो रहन्छ भन्नेकुरालाई मध्यनजर गरेर आगामी दिनमा समर्थन गर्ने वा नगर्ने भन्नेकुरा निर्धाराण गर्नेपनि बताए। उनले संविधानको पालना र रक्षाका लागि वर्तमान प्रधानमन्त्री र काँग्रेस एक ठाउँमा उभिएको स्मरण गर्दै फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरु तिनै संवैधानिक व्यवस्थालाई चुनौति दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौति आफूसमक्ष रहेको बताए।

उनले भन, ‘अहिले सभाको निर्वाचन सम्पन्न हुनासाथै प्रतिनिधि सभाको विघटन हुनु असामान्य र अस्वभाविक हुन्छ भन्ने जस्ता प्रत्युतपादक छलफलमा प्रवेश गर्नुभन्दा पूर्ण कार्यकाल सरकार चलाउन हामी सबै मिलेर गर्न दिनुपर्छ भनेर संविधानको मर्म र भावनाअनुरुप हाम्रा व्यवहार हुनुपर्छन्।

हामी नयाँ निर्वाचनबाट भर्खरै नयाँ प्रतिनिधि सभामा प्रवेश गरेका छौँ। देशमा विद्यमान चुनौतिहरुलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्याहरु समाधान हुन्छ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्ते रहन्छ, जनताको सरोकार जोडिएका विषयमा सरकारको पहल हुन्छ की हुँदैन, देश र जनताको हीतमा कसरी कति काम गर्छ यी सबै विषय हेर्न बाँकी छ। यी काम कारबाहीको आधारमा भविष्यमा समर्थन गर्ने र नगर्ने भन्ने बारेमा हाम्रो नीति रहनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ। उनले संविधानको संसदीय व्यवस्थाको विपरित फेरि पनि संसद विघटन गर्नसकिने कुरा उठाए। संविधानको पालना र रक्षाका लागि वर्तमान संविधानसहित वर्तमान प्रधानमन्त्री र हामी एक ठाउँमा उभिएका थियौँ। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरु तिनै संवैधानिक व्यवस्थालाई चुनौति दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौति हाम्रो सामु छ।’

सभापति देउवाले सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसदको एक महत्वपूर्ण काम भएको बताए। उनले देश र जनताका लागि सबै नीति र कानूनको निर्माण पनि संसदको क्षेत्राधिकार भएको भन्दै संसदमा प्रभावकारी प्रतिपक्षको अभावमा सरकार माथिको निगरानी र अनुगमनको पद्धति कमजोर हुने बताए।

प्रकाशित: २६ पुस २०७९ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App