१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस-बिहार ‘रोटीबेटी फ्याक्टर’

लहान- झन्डै ६ महिना लामो मधेस आमहडताल र साढे चार महिने नाकाबन्दी आन्दोलनको एजेन्डा ‘सेफ ल्यान्डिङ’ को सकसमा छ। मधेस हुँदै सीमापारि बिहार र भारतको राजधानी दिल्लीसम्म ‘मधेस एजेन्डा’ पुर्‍याएर मधेसी मोर्चाका नेताले नयाँ सत्ता समीकरणमा तेस्रो शक्तिका रूपमा स्पेस पाउँदै छन्। मधेस एजेन्डाको संवैधानिक सम्बोधन नभए पनि कांग्रेस–माओवादीले प्राथमिकताक्रमको पहिलो बुँदामा मधेस एजेन्डा राखेर नैतिक सम्बोधन गरिदिएका छन्।

यसका पछाडि मधेस–बिहार रोटीबेटी ‘फ्याक्टर’लेे महŒवपूर्ण भूमिका खेलेको जानकारहरू बताउँछन्। मधेसी मोर्चाका नेताले नेपालभित्र उठाउने प्रमुख एजेन्डा सीमांकन हो। केपी ओली नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस र माओवादी (केन्द्र) ले पनि मधेस एजेन्डालाई नै प्रमुख रूपमा अगाडि सारेका छन्। संविधान कार्यान्वयनको बाधकका रूपमा रहेको मधेस एजेन्डामा मधेस र बिहारको इन्ट्रेस्ट फरक–फरक छ।

मधेस आन्दोलन र नाकाबन्दी उत्कर्षमा रहेको बेला बिहारमा पनि नेपाली संविधानको विरोधमा उही रफ्तारमा आन्दोलन र सभा चलिरहेको थियो। बिहारमा नेपाली संविधानको विरोध किन?

बिहारका गाउँसहरका नागरिक यताका छोरीले नेपाली युवासँग विवाह गरे नागरिकताको अधिकार प्राप्त गर्नै नसक्ने बुझेर आन्दोलनमा होमिएका थिए। बिहारका सहरिया नागरिकले नागरिकता पाए पनि प्रमुख पदमा दाबेदारीको अधिकार नपाउने बुझेका थिए। जसकारण बिहारमा मधेस आन्दोलनको समर्थनमा दमदार जनमत खडा हुन बेर लागेन। नेपाल–भारत सीमादेखि बिहारको राजधानी पटनासम्मै मधेस आन्दोलनको पक्षमा व्यापक जनमत खडा भयो।

त्यो बेला बिहारका सहरमा हुने सभामा सम्बोधन मन्तव्य राख्न जाने मधेसी नेताले पनि संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्थालाई नै जोडतोडले उचाले। बिहारसँग मधेसको रोटीबेटी सम्बन्ध ऐतिहासिक भए पनि उताका धेरै मानिस मधेसको परिचयबाट बेखबर थिए।

नेपालका सीमावर्ती जिल्लाबाट जानकार उताका राजनीतिकर्मी नेपालमा मधेसको सीमाबारे बेखबर थिए। तर, नेपालको संविधानमा भएको व्यवस्थामा असन्तोष जनाउँदै नेपालमा मधेस आन्दोलन भइरहेको बारे पटनासम्मका नागरिक जानकार थिए। कारण थियो– आरजेडी उपाध्यक्ष रघुवंशप्रसाद सिंहले चलाएको भारत–नेपाल मैत्री संवाद यात्रा। यो यात्रा नेेपाल–भारत सीमा हुँदै पटनासम्म पुगेको थियो।

यो संवादमा मोर्चाका नेताले गोर्खा रेजिमेन्टमा मधेसीको स्पेससहितका गम्भीर एजेन्डा प्रस्तुत गरेका थिए। तर, बिहारमा नयाँ संविधानमा नागरिकतासम्बन्धी व्यवस्था मुद्दा नै ‘सुपर हिट’ भएको थियो।

अभियानका अभियन्ता सिंहका अनुसार नयाँ संविधानको नागरिकतासम्बन्धी व्यवस्थाले भारत–नेपाल रोटीबेटी सम्बन्ध खल्बलिन्छ। बिहारका धेरै छोरीले सीमापारि नेपाली युवासँग विवाह गरेका छन्, उनीहरूको नागरिक अधिकार धरापमा पार्ने गरी भएको व्यवस्था संशोधन हुनुपर्ने उनको तर्क थियो।

अभियानका अर्का नेता मगनीलाल मण्डलको तर्कमा यहाँकी सक्षम महिला नागरिकतासम्बन्धी व्यवस्थाकै कारण प्रमुख पदमा नजाने अवस्था न्यायिक होइन। यो व्यवस्थालाई सुधार गरेर अन्तरिम संविधानजस्तै गर्नुपर्ने उनको तर्क थियो।

नेपालको संविधानमा भएको प्रावधान आफ्नो भूमिका नागरिकको हितमा नभएको भन्दै नयाँ दिल्लीसमेत हल्लिनेगरी चलाइएको अभियानका कारण मधेस एजेन्डाले उचाइ पाउँदा मधेसी नेता खुब खुसी थिए। यो स्वाभाविक थियो पनि।

रोटीबेटी सम्बन्धको आडमा सीमावर्ती नेपाली भूमि मिचिएको कुरा नौलो होइन। सिरहाको लगदियानी– ४ स्थित नेपाल–भारत सीमाको आरपी २८ नम्बरको जंगेपिलर वरपर चारैतिर बस्ती बसाइएको छ। दशगजा क्षेत्र मिचेर भारतीय नागरिकले घर बनाएका छन्।

सिरहाकै इनर्वा गाविसअन्तर्गत पर्ने ठाढी गाउँको दक्षित दशगजामै लौकाहा कष्टम कार्यालय निर्माण गरिएको छ। कार्यालयसँगै छाप्रा पनि निर्माण भएका छन्। जसमा पसल सञ्चालनमा छ।

यी दुई घटना यहाँका नागरिकका लागि गम्भीर विषय बनेको छैन अहिलेसम्म। कारण उनीहरूलाई कुनै अप्ठ्यारो परेको छैन। प्रशासनिक र परराष्ट्रको मामला भन्दै चुपचाप छन् मधेसी। तर, सप्तरीको तिलाठी र भारतको सुपौल जिल्लाअन्तर्गत पर्ने कुनैली ग्राम पञ्चायतको बीचबाट बग्ने खाँडो खोलाले बिहीबार सीमा वारिपारिका छिमेकीबीच झडप निम्त्याइदियो। खाँडो खोलाको प्राकृतिक बहाव रोकेर आफ्नो घरखेत जोगाउने कुनौलीवासीको स्वार्थ र नेपाली भूभाग तिलाठीसहित आधा दर्जन गाउँलाई डुब्नबाट जोगाउने तिलाठीवासीको धर्मबीच टकराव भयो।

बाढीको मुल छेकेर भए पनि आफू जोगिने र अरुलाई डुबाउने काममा बिहीबार बिहानैदेखि सक्रिय कुनौलीवासीलाई जति सम्झाउँदा पनि नमानेपछि तिलाठीवासी रक्षात्मक हिसाबले अगाडि बढ्दा बोरामा बालुवा हालेर बाँध बाँधिरहेका कुनौलीवासी झडपमा उत्रे। क्षणभरमै दुवैतिरका आधा दर्जन मानिस रगताम्य भए। बाँधले सीमावारि र पारिका छिमेकीबीच भाइचारा सम्बन्ध क्षणमै मारपिटमा बदलियो।

केही दिनदेखिको अविरल वर्षाले यहाँको खाँडो, महुली, सप्तकोसी नहर र खोलामा पानीको सतह बढेर गाउँ पस्दा डुबान भएको छ। खाँडोको बाढीले वर्षौं पहिला भारतीयपक्षले निर्माण गरेको बाँध भत्कायो। बाढीले बाँध भत्काउँदा तिलाठीलगायत गाउँमा पसेको पानी खोलामै फर्कियो। त्यो पानीको बहाव कनौलीतर्फ फर्केपछि त्यहाँका खेतघर डुबान हुन थाल्यो। उनीहरू भत्केको बाँध बाँध्न आएपछि वारिपारिका छिमेकीबीच सद्भाव खलबलिएको छ। यसको असर अन्य सीमावर्ती गाउँमा पनि परेको बताइएको छ।

मैथिली संस्कृतिका जानकार श्यामसुन्दर यादव भन्छन्, ‘मधेस आन्दोलनका बेला कुनौलीका जनताको भरपुर साथ सहयोग र सद्भाव थियो। अहिले खाँडोको बाँधले दुवैतिरका छिमेकिबीच झडपपछि सम्बन्ध अमिलिएको छ।'

प्रकाशित: १५ श्रावण २०७३ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App