coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेले मागे नेपाल प्रहरी र सशस्त्रका ‘घुमुवा’ प्रहरीको विवरण

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरीको विवरण मागेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमातहतका घुमुवाको विवरण गृह मन्त्रालयमा पठाउन निर्देशन दिइएको स्रोतले जनाएको छ। पुस १८ गते नै विवरण पठाउन भनिए पनि दुवै प्रहरी संगठनले आफूहरूसँग घुमुवा प्रहरी नभएको र सूचना संकलन तथा अपराध अनुसन्धान खटिएका प्रहरी मात्रै रहेको जवाफ दिएका छन्।

‘घुमुवा प्रहरी भन्ने हुँदैन। अपराध–अनुसन्धानमा खटिएका अधिकारीहरू हुन्छन्, जुन विवरण मन्त्रालयलाई आवश्यक नै छैन, दरबन्दी मात्रै पठाउने हो। नेपाल प्रहरीमा सिआइबी, उपत्यका अपराध महाशाखा हुन्छन्। त्यहाँ कार्यरत कर्मचारीहरू अपराध अनुसन्धानमा खटिँदा प्रहरी पोसाकमा जाने कुरै भएन। त्यसकारण विवरण मात्रै पठाउने हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरो, लागुऔषध अनुसन्धान ब्युरो, साइबर ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालयजस्ता अनुसन्धानमूलक कार्यालयहरू छन्। त्यहाँ कार्यरत प्रहरी अधिकारीहरू सादा पोसाकमा हुन्छन्। साथै प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरी इन्टेलिजेन्स ब्युरोका रूपमा कार्यरत प्रहरी पनि सादा पोसाकमै हुन्छन्। यसबाहेक कार्यालय प्रमुखले पनि सूचना संकलनका लागि घुमुवा प्रहरी राख्ने चलन छ।

कतिपय सन्दर्भमा घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको भन्दै विभागमा उजुरी पर्दा कारबाही गरिएको हुन्छ। ‘हामीलाई विवरण मागिएको रहेछ। के पठाउने भनेर हामी सल्लाह गर्दैछौं,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने। उनले अपराध अनुसन्धानमा खटिएका प्रहरी नै सादा पोसाकमा हुने गरेको बताए।

उता सशस्त्र प्रहरीले पनि कार्यालयबाट कुनै पनि घुमुवा प्रहरी नखटाइएको जनाएको छ। राजु अर्यालले प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि २०७९ जेठ ६ गते नै कुनै कार्यालयले घुमुवा खटाएको भए तुरुन्तै फिर्ता गर्न निर्देशन दिएका थिए। ‘सूचना संकलनका लागि विभिन्न एकाइबाट सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी कर्मचारीले आर्थिक लाभ लिएको भन्ने गुनासो आएकाले अबदेखि सादा पोसाकमा नखटाउन निर्देशन दिइएको छ,’ गत जेठ ६ गते सशस्त्र प्रहरीले जारी गरेको निर्देशनमा भनिएको थियो।

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले पनि सशस्त्र प्रहरीमा घुमुवा प्रहरी नभएको बताए। ‘अहिले कतै पनि घुमुवा प्रहरी छैनन्। हामीले सादा पोसाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालनसम्बन्धी मापदण्ड २०७९ बनाएका छौं। त्यसअन्र्तगत इन्टेलिजेन्स ब्युरोमा कार्यरत प्रहरी कर्मचारी मात्रै छन्,’ एसएसपी थापाले भने। उनका अनुसार त्यसबाहेक कुनै पनि सशस्त्र प्रहरी कर्मचारी घुमुवाका रूपमा छैनन्। ‘कतिपय काममा गएका प्रहरीलाई घुमुवा भन्ने चलन छ तर उनीहरूको विवरण हामीले संगठनमा चुस्तदुरुस्त राखेका हुन्छौं। अब नाम दिनुपर्ने अवस्था आए उनीहरूले मात्र होइन, भावी दिनमा अरूले पनि काम गर्न मान्दैनन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

गृह मन्त्रालयले ती दुवै प्रहरी संगठनलाई लेखेको पत्रमा सादा पोसाकमा परिचालित प्रहरी कर्मचारीहरूको संख्या तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ। त्यसको म्याद बुधबार साँझ सकिएको छ। ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सादा पोसाक (घुमुवा) का रूपमा परिचालित प्रहरी कर्मचारीहरू केकति संख्यामा परिचालित छन् ? यसरी खटाइएका प्रहरीहरू मापदण्डबमोजिम परिचालित हुन् वा होइनन् ?’ भन्दै गृह मन्त्रालयले पत्र पठाएको थियो। ‘आलोपालो बदलीको व्यवस्था के छ ? कसको मातहतमा कसरी खटाईंदै आएको छ ? संघ, प्रदेश र जिल्लागत रूपमा उल्लिखित विवरणह? तीन दिनभित्र उपलब्ध गराइदिनुहुन,’ सो पत्रमा उल्लेख छ। घुमुवाका कारण दुवै प्रहरी संगठन बदनाम भएको भन्दै सो विवरण मागिएको मन्त्रालय स्रोतको भनाइ छ।

प्रकाशित: २१ पुस २०७९ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App