१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा एस पोलिटब्युरो बैठक: वाम एकताका बारेमा एक मत, निर्णय हुन बाँकी

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन्।

सोमवारबाट शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताए। उनले वामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताए। त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरु एकमत रहेको उल्लेख गरे।

बैठकमा करिव ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिए। उनले भने – ‘अधिकांशतः आफ्नो पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै हामी सबै उपलब्धी प्राप्त गर्नसक्छौँ। आजदेखि अभियान पाँच वर्षसम्म लगातार पार्टी निर्माणको अभियानमा हामी हिड्नुपर्छ भन्नेमा सबैको एक मत छ। अब वाम एकताको बारेमा, वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्ने कुरामा सबैको एक मत छ। निर्णय भएको छैन। अरु कतिपय विषयमा विभिन्न प्रकारका छलफलहरु चलिरहेका छन्।’

उनले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रश्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताए। बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उनको भनाई छ। उनले भने ‘यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा हामी छलफल गरिरहेका छौँ। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ। औपचारिक प्रश्ताव नै नआएको। प्रश्ताव आएपछि त्यो प्रश्ताव लायक छ, छैन। हाम्रा उद्देश्य अनुसार यि सबकुरा हुन्छन्, हुँदैनन्। हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन। त्यसपछाडी गरिने कुरा हो। त्यसकारण हामी सँग औपचारिक प्रश्ताव नै छैन।’

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताए। व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पारे। 

पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटव्युरो बैठक राखिएको भन्दै उनले परिपक्व निर्णय गरिने बताए। उनले भने ‘हामीले जनादेश बुझेका छौँ। हामीलाई एउटा धर्मसंकट छ अहिले। सँगै काम गरेको सहयात्री १७/१८ महिनासम्म हामी गठबन्धनमा सँगै बस्यौँ। कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ। जुन जुन बाटोबाट हुनुभएको भएपनि उहाँ प्रधानमन्त्री हुनुभयो। व्यक्तिगत रुपमा उहाँप्रति हाम्रो सद्भाव पनि छ तर राजनीति भनेको व्यक्तिगत सद्भावले मात्रै काम गर्ने कुरा होइन। 

पार्टीको नितिगत प्रश्नहरुमा प्रष्टता नभइकन व्यक्तिगत कुराको अर्थ रहँदैन। त्यो नितिगत प्रष्टता प्राप्त गर्नको निम्ति हामीले पोलिटव्युरोको बैठक बसाएका हौँ। त्यसैले हाम्फाल्ने, खुट्टो उचाल्ने जस्ता कुनै सन्दर्भ छैन। बडो सोचि, सम्झि हामी जे गर्छौ परिपक्व काम गर्छौं।’ बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ।

प्रकाशित: १८ पुस २०७९ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App