जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताएका हुन्।
उनले सो मन्त्रालयमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने निर्णय समेत गरिसकेको जानकारी दिए। अध्यक्ष राउतले आफू मन्त्रीको लागि योग्य नभएको भन्दै पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए।
उनले भने,‘हाम्रो पार्टीको तर्फबाट हाम्रो बरिष्ठ उपाध्यक्ष अब्दुल खान जी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जाँदै हुनुहुन्छ। त्यो निर्णय पार्टीबाट भएको छ।’
प्रकाशित: ११ पुस २०७९ ०९:५४ सोमबार